संसदीय राजनीतिमा आमजनताले प्रत्यक्ष सुन्ने र हेर्ने भएकाले पनि यथार्थपरक र प्रमाणित कुरामात्र बोल्नुपर्ने रहेछ : सांसद मिजार
प्रकाशित मिति
२०८० मंसिर ५ गते, मंगलवार १०:५०

मंसिर ५, २०८० काठमाडौँ: नेपाली कांग्रेसकी सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ। पहिलोपटक संघीय सांसद बनेकी उनले बाहिर सडकमा विद्यार्थी र पार्टीको राजनीति गरेभन्दा संसदीय राजनीति भिन्न भएको बताए । रासससँग कुरा गर्दै सांसद मिजारले भनिन्, ‘संसदीय राजनीतिको अनुभव फरक रहेछ। विद्यार्थी राजनीति गरेको जस्तो होइन, जिम्मेवारीबोध धेरै हुने, बोल्दा पनि हरेक शब्द चयनमा संवेदनशील हुनुपर्ने । आमजनताले प्रत्यक्ष सुन्ने र हेर्ने भएकाले पनि यथार्थपरक र प्रमाणित कुरामात्र बोल्नुपर्ने रहेछ।’
विसं २०४४ असार ७ गते नुवाकोटमा जन्मिएकी उनले विद्यार्थी राजनीतिमा सडकमा नारा लगाएजस्तो संसदमा नहुने बताए। सांसदको प्रस्तुति राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्ने उनले सुझाइन् । सोह्र वर्षको उमेरमै पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघको एकाइ सदस्य हुनुभएका सांसद मिजारले संसदमा उठाएका विषय कार्यान्वयनका लागि निरन्तर सक्रियताका साथ लागिरहनुपर्ने उल्लेख गरे ।
‘संसदमा बोलेका कुरा सुनुवाइ हुन्छन्, तर ‘फलोअप’ गर्नुपर्छ’, उनले भने, ‘कतिपय विषय दीर्घकालीनरूपमा लागू हुने र कानुन नभएका कारण पनि समय लाग्छ। अर्काे कुरा सत्तापक्षमा रहँदा बोल्ने पनि सीमा हुन्छ ।’ आफूले युवा, दलित र अल्पसङ्ख्यक समुदायका मुद्दालाई सदैव प्राथमिकताका साथ उठाउने गरेको उल्लेख गर्दै सांसद मिजारले राज्यले भने यी मुद्दामा अझै प्राथमिकता दिन नसकेको गुनासो गरे ।
सदनमा सांसदहरूले बोल्दा कतिपय अवस्थामा कुनै समुदाय र लैंगिक विशेषलाई चोट पुग्ने शब्द चयन गर्ने गरेको र बोल्दा सामान्य हेक्कासमेत नराख्ने गरेको उनको भनाइ छ । फरक प्रसङ्गमा सांसद मिजारले संसद्मा कुनै मुद्दा उठेपछि वा कुनै विधेयकका सम्बन्धमा सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नैपर्ने, कतिपय अवस्थामा विषयवस्तुभन्दा बाहिर बोल्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उल्लेख गरिन् ।
‘संसद्को लामो प्रक्रियाका कारण कानुन बन्न ढिलाइ हुने गरेको छ, यस्ता नियमित विषय संसदीय समितिमार्फत बृहत् छलफल गर्दा राम्रो हुन्छ’, उनले भनिन् । साना विषयमा पनि विपक्षी दलले सदन अवरोध गर्ने र सरकारले पर्याप्त बिजनेस दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उनको बुझाइ छ। आगामी दिनमा यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उनले बताइन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी उनले मुलुकका भ्रष्टाचारका प्रकरण र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी त्यसमा संलग्न दोषीलाई जो-केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने सुझाव दिइन् ।
कांग्रेसको १२ औं महाधिवेशनदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि रहँदै आएकी सांसद मिजारले भनिन्, ‘सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ। मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, देश र जनताको समृद्धिमा सबै दल एक ठाउँमा उभिनैपर्छ।’
सांसदको प्रमुख काम कानुन निर्माण भए पनि जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि सांसदले केही विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको उनको तर्क छ । नेविसंघको जिल्ला सदस्य हुँदै पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएकी उनीसँग तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निजी सचिवालयमा काम गरेको अनुभवसमेत छ ।
विसं २०६२-६३ को आन्दोलनका घाइतेसमेत भएका उनले जनताका प्रतिनिधिको सर्वोच्च थलो संसदमा अनुशासित र संयमित भएर सांसदहरूले छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरिन् ।
उनले संसद्लाई प्रभावकारी बनाउन सांसदहरूले संयमरूपमा प्रस्तुत हुनुपर्ने, नैतिकवान बन्नुपर्ने र सरकारले पनि पर्याप्त बिजनेस र महत्त्व दिनुपर्ने सुझाव दिइन् ।
प्रतिकृया