प्रहरीले खालि गर्यो माइतीघर क्षेत्र, निषेधित क्षेत्रको ब्यानर राखियो
प्रकाशित मिति
२०८० मंसिर ५ गते, मंगलवार ०८:५१

मंसिर ५, २०८० काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेसँगै सुरक्षाकर्मीले माइतीघर क्षेत्र खालि पारेका छन् । सुरक्षाकर्मीले अबेर राति माइतीघर क्षेत्र खालि गराएको हो।
उक्त क्षेत्रलाई सोमबारदेखि आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले जानकारी दिएका थिए । प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकिएको काठमाडौँ प्रशासनले जानकारी गराएको छ ।
आगामी मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईंले गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै प्रशासनले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रतिकृया