• 3:02 pm

बलिउड गीतकार समिर अञ्जानले भने- अब नेपालका बारेमा धेरै कुरा लेख्नेछु

प्रकाशित मिति

२०८० मंसिर ३ गते, आईतवार ०१:५६

मंसिर ३, २०८० काठमाडौँ: बलिउडका गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार उनलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो । समिर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकारसमेत हुन् । विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका समिरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन् ।


कार्यक्रममा बोल्दै समिरले नेपाली भाषा धेरै प्रिय रहेको बताए । उनले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताए । उनले आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरैकुरा लेख्ने प्रतिबद्धता जनाए ।


कार्यक्रममा बोल्दै साहित्यकार वसन्त चौधरीले समिर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताए । उनले मानिसहरु उनका गाना सुनेर र गुन्गुनाएर उनको माया प्रकट गर्ने बताए । उनले अञ्जानले भारतीय गीतहरु उल्लेख्य रुपमा रचना गरेको स्मरण गरे । उनले गीतले हरेक मानिसलाई जिउन सिकाउने बताए ।


गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।

प्रतिकृया