• 10:59 am

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ०३:०३

कात्तिक २०, २०८० काठमाडौँ: साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गरेको थियो । तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरिएको कार्यालयले जनाएको छ ।


यसका साथै अवैधरूपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए । प्रधानमन्त्री कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौंका विभिन्न स्थानमा अवैधरूपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो ।


उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्रीवितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीले समेत दश बोरा चिनी बिक्रीवितरणका लागि किन्न पाउने भएका छन् ।


यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ । खुद्रा व्यापारी तथा व्यवसायीहरूले आजदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।

प्रतिकृया