
प्रधानमन्त्रीले इजरायलका समकक्षीलाई फोन गरेर त्यहाँ रहेका नेपालीको उद्धार गर्नुपर्योः पदम गिरी
प्रकाशित मिति
२०८० आश्विन २१ गते, आईतवार ०४:५६

असाेज २१, २०८० काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इजरायली समकक्षी बेन्जामिन नेतन्याहुलाई फोन गरेर त्यहाँ रहेका नेपालीको उद्धारका निम्ति पहल गर्न भनेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले प्रमुख सचेतक गिरीले इजरायलमा हमासको आक्रमण बढ्दै गएकाले त्यहाँ रहेका नेपालीको उद्धारमा एक मिनेट पनि ढिलाइ गर्न नहुने बताएका हुन्।
‘वास्तवमा भन्ने हो भने त्यहाँ रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको उद्धारका निम्ति र उहाँहरूको जीवन रक्षाका निम्ति एक मिनेट पनि ढिलाइ गर्न सक्ने अवस्था छैन। यो देशमा सरकार छ, मुलुकमा राज्य छ। ती नागरिकहरूको अभिभावक यो राज्य हो, सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले कदम उठाउनुपर्छ,’ उनले भने, ‘सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, सरकारका मन्त्रीले त्यहाँको घटना विवरण दिएर मात्र पनि पुग्दैन, देशको प्रधानमन्त्रीले त्यहाँको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गर्नुपर्यो। संवाद गर्नुपर्यो। हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवन रक्षा हुनुपर्यो। उनीहरूलाई उद्धार गर्नुपर्यो। उनीहरूको उपचारको काम तुरून्तै हुनुपर्यो।’
दक्षिण इजरायलमा हमासको आक्रमणमा नेपालीहरू पनि परेको केही गम्भीर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घरभित्र लुकेर बस्नुपरेकाप्रति सरकार अत्यन्त जिम्मेवार हुनुपर्ने उनले बताए।
‘नर्सिङ होमभित्र लुकेर बस्नुपरेको, काम गर्ने कारखानाभित्र लुकेर बस्नुपरेको र छिटोभन्दा छिटो आफ्नो जीवन रक्षा गरिदिनका लागि अपिल गरेको कुराहरू बाहिर आइरहेका छन्,’ उनले भने।
परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराएका छन्।
प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट इजरायलमा गरेको आक्रमणपछिको अवस्थाबारे परराष्ट्र मन्त्री साउदले आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराएका हुन्।
परराष्ट्रमन्त्री साउदका अनुसार इजरायलमा हाल चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी छन्। विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। यो गाजा क्षेत्रनजिकै पर्दछ।
यहाँ रहेका १७ जना नेपालीमध्ये दुई जना सकुशल छन् भने तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ।बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको परराष्ट्र मन्त्री साउदले बताए।
प्रतिकृया