• 6:05 am

अम्पायरको गलत निर्णयका कारण नेपालले हार्नुपर्यो !

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ०३:२०

असोज १६, २०८० काठमाडौँ: १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरिन पुग्यो । चीनको हाङझाउमा आज मंगलबार सम्पन्न प्रतियोगिताको क्वाटरफाइनलमा नेपालले भारतसँग २३ रनको पराजय ब्यहोर्यो । भारतले प्रस्तुत गरेको दुई सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सक्यो । बलियो टोली भारतविरुद्ध नेपालको प्रदर्शन प्रशंसायोग्य थियो । नेपाललाई हारको निराशा भन्दा पनि सद्भाव र सहानुभूति मिलेको छ ।


तर, उक्त खेलमा खराब अम्पायरिङ भएको प्रस्टै देख्न सकिन्छ । अम्पायरिङ खराब भएकै कारण नेपालले हारेको भन्दै नेपाली क्रिकेटप्रेमीहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । नेपालविरुद्ध शतकीय इनिङ्स खेलेका भारतीय ब्याट्सम्यान यशश्वी जैसवाल १०औं ओभरमा ७२ रन बनाउँदै गर्दा दिपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लु अपिल भएको थियो । तर अम्पायरले जैसवाललाई आउट दिएनन् । रिप्लेमा हेर्दा उनी आउट भएको देखिएको थियो । चर्चित भारतीय कमेन्टटेटर आकाश चोपडाले पनि कमेन्ट्रीको क्रममा भार सिस्टम भएको भए उनी आउट हुने बताएका थिए ।


अर्कोतर्फ यसै खेलमा नेपालका ब्याट्सम्यान कुशल भुर्तेल पनि गलत निर्णयको शिकार भएको प्रस्ट देख्न सकिन्छ । २८ रन बनाएर खेलिरहेका कुशल भारतीय बलर साइ किशोरको बलमा आभेस खानको हातबाट क्याच आउट भएका थिए ।


उनलाई अम्पाएरले आउट दिए । तर आभेसले लिएको क्याचबारे अम्पाएरले सहि निर्णय नलिएको देखिएको छ । उनले बल समात्दा बलले ग्राउण्डमा छोएको देखिएको छ । एशियन गेम्समा रिभ्यू सिस्टम नहुँदा नेपालले गलत अम्पाएरिङको शिकार बन्नुपरेको अहिले चर्चा चलिरहेको छ ।

प्रतिकृया