
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रकाशित मिति
२०८० आश्विन १५ गते, सोमबार ०९:०७

असोज १५, २०८० काठमाडौँ: नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ। हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो।
नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।
तर चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो । यता सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निगमसँग रुष्ट बनेका थिए । लगत्तै उनले मन्त्रिपरिषद्को बैठक बोलाएर यसबारे निर्णय गरेका हुन् ।
यसअघि पेट्रोल १८३ र डिजेलको १७३ रुपैयाँ प्रतिलिटर थियो । मूल्यवृद्धि फिर्तापछि ग्याँसको मूल्य पनि १ हजार ८९५ रुपैयाँ नै कायम भएको छ ।
प्रतिकृया