
खालिस्तान समर्थकहरूले क्यानडामा भारतीय वाणिज्य दूतावास बाहिर जुलुस निकाले
प्रकाशित मिति
२०८० आश्विन ९ गते, मंगलवार १०:५२

असाेज ९, २०८०, काठमाडौँ : खलिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर सोमबार क्यानडाको भ्यानकुभरमा रहेको भारतीय वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन भएकाे क्यानडियन ब्राेडकास्टिङ कर्पोरेसन (सिबिसी)ले जनाएकाे छ । सिसिबीका अनुसार खलिस्तानको समर्थन र भारतको विरोधमा निकालिएको उक्त र्यालीमा ७५ जनाले भाग लिएका थिए।
क्यानडा र खालिस्तानको झण्डा फहराउँदै प्रदर्शनकारीहरू भारत सरकारविरुद्ध नाराबाजी गरेका थिए । अमेरिकास्थित खालिस्तान समर्थक समूह सिख फर जस्टिसले उक्त विरोध प्रदर्शन गरेको थियो ।
सिख फर जस्टिसका अध्यक्ष तथा खालिस्तान समर्थक नेता गुरपतवन्त सिंह पन्नु पनि भ्यानकुभर पुगेका थिए । गत हप्ता क्यानडाको संसदमा प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतलाई आरोप लगाउँदै खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्ट संलग्न हुनसक्ने बताएका थिए ।
भारतले क्यानडाकाे याे आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र आरोपलाई बेतुका र प्रेरित आरोपको संज्ञा दिएको छ । क्यानडाले अहिलेसम्म आफ्नो आरोपको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेको छैन ।
ट्रुडोको यो आरोपपछि भारत र क्यानडाबीच कूटनीतिक विवाद उत्पन्न भएको छ । दुवै देशले एक एक कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । क्यानडाको भिसा सेन्टरमा काम गर्ने कर्मचारीको सुरक्षाको कारण देखाउँदै भारतीय विदेश मन्त्रालयले हाल क्यानडामा भिसा सेवा बन्द गरेको छ ।
प्रतिकृया