• 8:59 am

पुटिनको निमन्त्रणमा किम जोन रुस जाने, हतियारको सौदाबाजी हुने आंकलन

प्रकाशित मिति

२०८० भाद्र १९ गते, मंगलवार १०:४७

भदौ १९, २०८० काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न यही सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोन उन रुस जाने भएका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमहरुले रुसको भ्लाडिभोस्टकमा हुने दुई नेताबीचको भेटवार्तामा युक्रेन युद्धमा होमिएको रुसलाई हातहतियार उपलब्ध गराउने विषयमा सहमति हुने बताएका छन् । पछिल्ला वर्षहरुमा रुसले उत्तर कोरियासँग राजनीतिक, कुटनीतिक तथा सैनिक सम्बन्ध थप प्रगाढ बनाउँदै लगेको छ ।


उत्तर कोरियाली नेताले सम्भवत: प्योङयाङबाट रेलमार्ग हुँदै रुसको पूर्वी शहर भ्लाडिभोस्टकको यात्रा गर्नेछन् । समाचार अनुसार उत्तर कोरियाले रुसलाई आर्टिलरी शेल (तोपगोला) र ट्याँकभेदी क्षेप्यास्त्रहरु उपलब्ध गराउने योजना बनाएको छ । यसको बदलामा रुसले उत्तर कोरियालाई भूउपग्रहका लागि उच्च प्रविधि र आणविकयुक्त पनडुब्बीका लागि प्रविधि हस्तान्तरण गर्ने सम्भावना छ ।


अमेरिकाले उत्तर कोरियाले लगातार उन्नत किसिमका हातहतियार उत्पादन र परीक्षण गरिरहेकामा चिन्ता व्यक्त गरिरहेकै अवस्थामा रुस र उत्तर कोरियाबीचको बाक्लिएको सम्बन्धले थप तरङ्ग ल्याएको छ । यही सन्दर्भमा दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने योजना अघि बढाएका छन् ।


केही अघि उत्तर कोरियाको भ्रमण गरेका रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले पनि छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न रुसले चाहेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया