संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ हुने
प्रकाशित मिति
२०८० भाद्र ७ गते, बिहीबार ०२:३५
भदौ ७, २०८० काठमाडौँ: प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि यसअन्तर्गत रहेका संसदीय समितिले नेतृत्व पाउने भएको छ । सभामुख देवराज घिमिरेले बिहिबार प्रमुख चार दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि सभापतिको निर्वाचन कार्यक्रम तोकेका हुन् ।
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तोकिएको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिएका छन् । संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।
समितिहरुमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफल लगायतका विषय प्रभावकारी हुन सकेको थिएन ।
दलहरुबीच संसदीय समितिमा नेपाली कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने सहमति भएको छ । एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले ११ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ । समितिहरुमा सभापति चयनका लागि केही सदस्यहरुको आवद्ध समिति हेरफेर गर्ने तयारी समेत रहेको छ ।
प्रतिकृया