आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार १२:४४

samsad parliament nepal 1 1 e1654497549753

भदौ ५, २०८० काठमाडौँ : प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो २ बजे बस्ने उक्त बैठकमा भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हट्ने भएको छ। एमालेले उक्त सुन प्रकरणका कारण निरन्तर रूपमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदन अवरोध गर्दै आएको थियो।


अवैध सुन तस्कर प्रकरणका कारण निरन्तर संसद् अवरोध गर्दै आएको एमालेले आजबाट कुनै अवरोध नगर्ने ‍पार्टी सचेतक महेश बर्तौलाले बताए।


सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमालेले संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो।


प्रतिनिधिसँगै राष्ट्रियसभाको अवरोध समेत हट्ने भएको छ। राष्ट्रियसभा बैठक आजै दिउँसो १:०१ बजे बस्दैछ।


नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेर संघीय संसद्‌का दुवै सदनमा अवरोध पुर्‍याउँदै आएको थियो।


एमालेको अवरोधका कारण साउन १० गते यता प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्।


प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरू सहभागी थिए।


सोमबारको बैठकले उच्चस्तरीय समितिको मोडालिटी तयार गर्न प्रमुख ३ दलका नेता सम्मेलित समिति समेत गठन गरेको बताइएको छ। समितिमा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन्।

प्रतिकृया