स्वीडेनलाई हराउँदै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार ०४:३५

sweden

३० श्रावण २०८०, काठमाडौँ:  स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अकल्यान्डमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि २–१ को नाटकीय जित निकाल्दै स्पेन फाइनलमा प्रवेश गरेको हो ।

अन्तिम १० मिनेटभित्र तीन गोल भएको खेलमा स्पेनले इतिहास बनाएको हो। पहिलो पटक विश्वकपको फाइनल प्रवेश गर्ने क्रममा कप्तान ओल्गा कार्मोनले ८९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। त्यसअघि स्पेनले अकल्यान्डको इडन पार्कमा ८१ औँ मिनेटमा सल्मा पारालुइलोको गोलमार्फत अग्रता बनाएको थियो ।

१९ वर्ष २७५ दिनमा गोल गरेकी पारालुइलो सेमिफाइनलमा गोल गर्ने दोस्रो सर्वाधिक कम उमेरकी खेलाडी बनिन्। यसअघि क्यानडाकी कारा लान्ङ्गले स्वीडेनविरुद्ध २००३ मा १६ वर्ष ३४८ दिनमा गोल गर्दै सर्वाधिक कम उमेरमा सेमिफाइनलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी थिइन् ।

तर पारालुइलोले गोल गरेको केही समयमा नै स्वीडेनले गोल फर्कायो। स्वीडेनकी सब्सटिच्युट खेलाडी रिबेका ब्लोमकिस्टले ८८ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याइन् ।

तर, नाटकीय बनेको खेलमा एक मिनेट बित्न नपाउँदै स्पेनी कप्तान कार्मोनाले गोल गरेपछि स्वीडेन टिम खेलमा फर्किन सकेन । अब स्पेनले उपाधिका लागि आयोजक अस्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया