चिरख्वा हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला
प्रकाशित मिति
२०८० श्रावण २८ गते, आईतवार १०:५६

२८ श्रावण २०८०, काठमाडौँ: चिरख्वा हाइड्रोपावरले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १०% अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको छ ।
कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गरेको हो। यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०% अर्थात ८० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।
यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस कम्पनीको आइपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ ।
स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
प्रतिकृया