
पूर्वकप्तान मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
प्रकाशित मिति
२०८० श्रावण १९ गते, शुक्रबार ०३:५३

१९ श्रावण २०८०, काठमाडौँ: क्रिकेटर ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन् । मल्लले आज पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । नेपाली राष्ट्रिय टोलीको नेतृत्व समेत सम्हालिसकेका मल्लको पछिल्लोपटक नेपाल क्रिकेट एशोसियसनका पदाधिकारीसँग मनमुटाव भएको थियो । त्यसपछि उनलाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई ल्याइएको थियो ।
सन्यासको घोषणाका क्रममा मल्लले आफूलाई यहाँसम्म पुर्याउन हौसला दिने सबैलाई धन्यवाद दिए । पत्रकार सम्मेलनमा उनले भने, “मैले पनि कसैलाई रिप्लेस गरेर आफ्नो स्थान बनाएको थिएँ । अब भने मलाई कसैले रिप्लेस गर्नु नै उपयुक्त हुन्छ ।” सन्यासको कारण के हो ? भनेर सोधेको संचारकर्मीको प्रश्नमा उनले आफ्ना लागि सन्यासको घोषणा गर्ने उपयुक्त समय नै अहिले भएको बताए । राष्ट्रिय टिममा बसेर शतप्रतिशत दिन नसक्ने अवस्थामा ठाउँ खालि गरिदिनुपर्ने उनको भनाइ थियो ।
मल्लले नेपालका लागि ३७ वटा अन्तराष्ट्रिय एकदिवशीय म्याच खेलेर ८७६ रन बनाएका छन् । त्यसमा सातवटा अर्धशतक थिए । टि-२० अन्तराष्ट्रियमा ४५ खेल खेलेका उनले ८८३ रन बनाएका थिए । त्यसमा १ शतक र दुई अर्धशतक समेत सामेल छन् ।
मल्लले करिब एक दशकसम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए । उनी सन २०१९ को नोभेम्वरमा राष्ट्रिय टोलीको कप्तान बनेका थिए ।
प्रतिकृया