• 4:21 pm

कुशल व्यवस्थापक राजेन्द्रकुमार राउत एनआरएनएको सीईओमा नियुक्त

प्रकाशित मिति

२०८० श्रावण १३ गते, शनिबार ०७:२२

१३ श्रावण २०८० शनिबार : गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त भएका छन् । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार गत महिना रविकिरण अधिकारीले राजीनामा दिए पछि रिक्त उक्त पदमा राउत नियुक्त भएका हुन् ।


राउतलाई गैरआवासीय नेपाली संघद्धारा गठित सीईओ छनोटले दोस्रो नम्बरमा सिफारिस गरेको थियो । संघको कर्मचारी नियमावली अनुसार पहिलो नम्बरमा रहेका अधिकारीले सो पद छोडे पछि राउत स्वतः नियुक्ती भएका हुन् ।


यसअघि राउतले कोरोना महामारीको बेला विदेशमा बस्ने नेपालीहरुलाई उद्धार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा सो महामारीमा मध्यपूर्वका देशबाट मात्र ३० हजार भन्दा बढी नेपालीहरुको उद्धार गरिएको थियो ।


उनी कुशल व्यवस्थापकका रुपमा पनि चिनिन्छन् । गत वर्ष संघको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ४ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो । सीईओ छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, डा बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ रहेका थिए।


यस्तै विज्ञको रुपमा भीम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो । छनोट समितिकै सिफारिसलाई आधार बनाएर संघले उनलाई नियुक्ती दिईएको हो । उनले भाद्रदेखि संघको केन्द्रीय कार्यालयमा आफ्नो कार्यभार समाल्ने छन् ।

प्रतिकृया