• 9:14 am

चाँगुनारायण नगरपालिकामा आगलागी सम्बन्धि जनचेतनामूलक कार्यक्रमको शुरुवात

प्रकाशित मिति

२०८० असार १४ गते, बिहीबार १२:३४

१४ असार २०८०, काठमाडौँ : चाँगुनारायण नगरपालिकाको समन्वयमा जुद्धबारुण यन्त्र कार्यालय भक्तपुरको आयोजनामा आगलागी सम्बन्धि जनचेतनामूलक कार्यक्रम चाँगुनारायण नगरपालिका परिसरबाट शुरु भएको छ । घरायसी प्रयोजन तथा अन्य विभिन्न कारणले गर्दा ग्याँस सिलिण्डरबाट हुने आगलागीबाट कसरी बच्ने र स्थानीय श्रोत साधनहरुको साथै अग्नि नियन्त्रक सामग्रीको प्रयोग गरी कसरी अग्नि नियन्त्रण गर्ने भन्ने बारेमा प्रदर्शन गरिएको थियो ।


जनचेतनामूलक कार्यक्रमको शुरुवातमा आफ्नो भनाई राख्नुहुँदै चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आगलागी सम्बन्धि चेतनामूलक कार्यक्रम संचालन गर्नुभएकोमा जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरलाई धन्यवाद दिनुभएको थियो । चाँगुनारायण नगरपालिकाले जुद्धबारुण यन्त्र भक्तपुरसंगको समन्वय र सहकार्यमा वडा तथा समुदायमा आगलागी सम्बन्धि चेतनामूलक कार्यक्रम संचालनको लागि विपद् व्यवस्थापन अन्तर्गत बजेट विनियोजन गरिएको कुरा नगर उपप्रमुख बुढाथोकीले बताउनुभयो ।


उहाँले विपद्को अवस्थामा समुदायका मानिसहरुनै प्रथम उद्धारकर्ता हुने भएकोले प्रत्येक समुदायमा प्रथम उद्धारकर्ताटोली तयार गर्ने चाँगुनारायण नगरपालिकाको नीति रहेको जानकारी गराउनुहुँदै सोही अनुरुप विपद् जोखिम न्यूनीनकरण र व्यवस्थापनका कार्यक्रम तथा गतिविधिहरु संचालन गरिरहेको बताउनुभयो ।


जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरका अग्नी नियन्त्रक उमेश ढकालले ग्याँस सिलिण्डरको प्रयोग गर्दा हुन सक्ने आगलागी तथा पेट्रोलियम पदार्थबाट हुने आगलागीका सचेतनाका उपायहरु बताउनुका साथै आगलागी भएमा कसरी नियन्त्रणमा लिने सकिन्छ भनेर प्रदर्शन गरी देखाउनुभएको थियो । उहाँले ग्यास प्रयोग गर्दा सिलिण्डरको म्याद, ग्यास चुहिएको वा नचुहिएको आदी कुरा निरिक्षण गरेर मात्र प्रयोग गर्न कार्यक्रमका सहभागिहरुलाई सुझाउनुुभयो । जनचेतनामूलक कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रहरी तथा कर्मचारीहरुले आगो निभाउने अभ्यास गरेका थिए ।


जुद्धबारुण यन्त्रका ५ जनाको टोलीले प्रदर्शन गर्नुभएको अभ्यास कार्यक्रममा जुद्धबारुण यन्त्रका सहायक सुवास पोखरेलले सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका कर्मचारीहरु, नगर प्रहरीहरु र सेवाग्राही लगायतको सहभागिता रहेको थियो । कार्यक्रमले आगलागीबाट हुने क्षती न्यूनीकरणका लागि सचेतना बृद्धि गर्नुका साथै घरायसी प्रयोजनमा प्रयोग भइरहेको ग्याँस चुहिएर हुन सक्ने आगलागीलाई नियन्त्रण गर्न सहयोग पु¥याएको नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाले बताउनुभयो ।

प्रतिकृया