• 3:39 am

आजकल शिष्टता र विनम्रता हराउँदै गुरु कुट्ने संस्कृति बढेको छ : अध्यक्ष केपी ओली

प्रकाशित मिति

२०८० असार १४ गते, बिहीबार ११:३०

१४ असार २०८०, काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आजकल गुरु कुट्ने संस्कृति बढेको बताएका छन् । बिहीबार काठमाडौँमा मदन भण्डारी मेमोरियल कलेजको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संस्कृति, शिष्टता र विनम्रता हराउँदै गएकोमा चिन्ता बढिरहेको बताए ।


‘आज गुरु कुट्ने संस्कृति बढेको छ, यो बडा दुखद कुरा हो यो’, अध्यक्ष ओलीले सभ्यताको दियो बाल्ने देशमा गुरुको ढाड खुस्काउने, टाउको फुटाउने र करङ भाँचिदिएर बहादुरी देखाउने काम भइरहेको बताए ।


उनले सरकारले त्यस्तैलाई प्रोत्साहन गर्ने गरेको पनि बताए । ‘त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । विद्यार्थीले प्रोफेसर कुट्न किन नपाइने मज्जाले पाइन्छ भन्छ सरकार । गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार’, ओलीले भने, ‘त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन् । नाम विद्यार्थीको हुन्छ तर ती विद्यार्थी होइनन् । बाहिर सडकका औजार हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्दछ । संस्कृति, शिष्टता र विनम्रता अरूका लागि होइन ।’


‘नाम विद्यार्थीको हुन्छ, ती सडकका औजारहरू हुन्छन्। यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ। विद्या ददाती विनयम् भएकाले यसले विनम्रता दिन्छ।सुपात्रता दिन्छ,’ उनले भने।


केही साताअघि त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेको मुद्दा सरकारले फिर्ता लिएको थियो ।

प्रतिकृया