वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना हुने
प्रकाशित मिति
२०८० असार १३ गते, बुधबार ०५:१८
१३ असार २०८०, काठमाडौँ: यही असार १६ गते देिख वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना हुने भएकाे छ । रोजगारको खोजीमा रहेका युवायुवती, विद्यार्थीहरुलाई उनीहरुको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी गैह सरकारी निकायहरुसंग गराउने मुख्य उद्धेश्यका साथ मध्यपुर थिमि नगरपालिकाले प्रथम पटक मध्यपुर थिमिमा “वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला” आयोजना गर्दैछ । मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरुको बीचमा एकै स्थानमा ल्याई उनीहरुबीच पुलको काम गर्नेछ । मध्यपुर थिमिको आयोजनामा तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा १ दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला २०८० असार १६ गते शनिवार बिहान ९ बजे देखि अपरान्ह ५ बजेसम्म आदर्श माध्यमिक विद्यालय सानोठिमीमा आयोजना हुँदैछ । यो कार्यक्रम नेपाल सरकार तथा स्वीस सरकार बीचको द्विपक्षीय सम्झौता अनुसार संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना दोस्रो चरण अन्तर्गत सञ्चालन हुनेछ ।
असार १६ गते आयोजना हुन लागेको मेलामार्फत करिव एक सयले रोजगार पाउने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । मध्यपुर थिमि २ सानोथिमिस्थित आदर्श माविको प्रांगणमा हुने मेलामा विभिन्न व्यवसाय, उद्योग र कम्पनीहरुले मेलास्थलमै रोजगारी उपलव्ध गराउँने प्रतिबद्धता जनाएको प्रमुख श्रेष्ठको भनाई छ । मेला बारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख श्रेष्ठले नीजि विद्यालयको संगठन प्याव्सन भक्तपुरले मात्र मेलामार्फत ४० जना भन्दा बढीलाई रोजगार दिने ग्यारेन्टी गरिसकेको जानकारी दिए ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्श, मध्यपुर पर्यटन विकास समिति, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा, जिल्ला सहकारी संघ मध्यपुर समन्वय समिति, मध्यपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, प्याब्सन भक्तपुर, प्याव्सन मध्यपुर, स्थानीय स्काउट मध्यपुर, घरेलु तथा साना उद्योग संघ र आदर्श माध्यमिक विद्यालय, सानोठिमीको सहकार्य छ । यस मेलामा विद्यार्थी, युवाहरुले आ-आफ्नो रुची र खुबी अनुसारको वृतिविकास प्रयोजनार्थ सीप सिक्न, जागिर खोज्न र रोज्न सहयोग पुयाउनेछ ।
मध्यपुर थिमि नगरपालिकाकी प्रवक्ता एवं मेला आयोजना मूल समारोह समितिका संयोजक श्री कृष्णहरि आचार्य ज्यूको सभाध्यक्षतामा यस कार्यक्रम समुद्घाटन कार्यक्रम २०८० असार १६ गते विहान ९ बजे आदर्श माध्यमिक विद्यालय, सानोठिमीमा प्रतिनिधि सभा सदस्य माननिय दुर्लभ थापाज्युको प्रमुख आतिथ्यतामा सञ्चालन हुनेछ | ENSSURE परियोजनाको उद्देश्य नेपाली युवा, पुरुषले उपलब्धिमुलक अपेक्षित रोजगारी प्राप्त गर्ने रहेको छ । अतः जनशक्तिलाई स्थानीय उद्योग/ व्यवसाय, अटोमोबाईल, बैंकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुयाउने, यूवाहरु / गृहिणी महिला / काम गरिरहेका कामदारहरुको वृत्ति विकासको लागि सहयोग गर्न र श्रम बजारको सीपको आवश्यकताको जानकारी गराउने हेतुले प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिकवर्गको समेत सहभागिता रहने मेलामा उद्योग / व्यवसाय लगायत अन्य क्षेत्रका रोजगारदाताको सहभागिता रहनेछ ।
मेलामार्फत रोजगारीको खोजीमा रहेकाहरुलाई प्राविधिक तथा व्यवसायिक सिप, नविनतम प्रविधि, सीप तथा शिक्षण प्रणाली विकासमा नीति तथा कार्यक्रमका बारेमा जानकारी दिने लक्ष्य रहेको वडा नं. ३ का वडाअध्यक्ष समेत रहेका आचार्यले बताए । श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्दै नागरिकहरुमा कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रम बजारमा उनीहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने उद्देश्य समेत मेलाको रहेको छ ।
आयोजकका अनुसार, मेलामा विभिन्न उद्योग व्यवसायबाट १६, मध्यपुर थिमि नगरपालिकाबाट ३, प्राविधिक शिक्षालयहरुबाट ९ वटा स्टल रहनेछन् । त्यसैगरी स्थानीय उत्पादन मध्यपुर माक्स मेकिङ्क र हस्तकलाबाट २, होटल व्यवसायीबाट २, अस्पतालको २, बैङ्क तथा वित्तिय संस्था, वल्र्डलिङ्क कम्युनिकेसन, इन्स्योर परियोजनाका१–१ वटा गरी कुल ३७ वटा स्टलहरु रहनेछन् ।
मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार, मेलामा ३ हजार देखि ३५ सय जनाको सहभागिता रहने अनुमान नगरपालिकाले गरेको छ । मेलाबाट कम्तीमा एक हजार ५ सय युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसँग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी लिने अपेक्षा गरिएको उप प्रमुख श्रेष्ठले बताए।
प्रतिकृया