• 3:27 am

२४ असार राति १२ बजेदेखि देखि सरकारी सम्पूर्ण भुक्तानी रोकिने

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ०१:४०

१३ असार २०८०, काठमाडौँ : आगामी असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।


महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन गरेको हो ।


महालेखा नियन्त्रण कार्यालयको चलानी नम्बर ३२३ को असार १० गतेको परिपत्र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द गर्ने र सालतमाम सम्बन्धमा विषयको पत्रको बुदा नं।१ मा संघ प्रदेश र स्थानीय तहहरुको आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै साविकमा जस्तै निकासा भुक्तानी र प्रणाली समेत बन्द हुने हुँदा सूचना संप्रेषण गरिएको महालेखा नियन्त्रणले जनाएको छ ।


संघीय कार्यालयहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२) बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम (७) र (८) बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने सात दिन अघि अर्थात् असार २४ गते राति १२ बजेदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पूर्ण निकासा भुक्तानी गर्न महालेखा नियन्त्रण कार्यालयले निर्देशन गरेको छ ।


सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।


मंगलबारसम्म संघीय सरकारले १२ खर्ब २१ अर्ब ३९ करोड रुपैयाँ खर्च गरिसकेको छ । जसमा ९ खर्ब १० अर्ब चालु, १ खर्ब ६० अर्ब पूँजीगत र १ खर्ब ४८ अर्ब रुपैयाँ वित्तीय व्यवस्थामा खर्च भइसकेको छ । यो क्रमशः ७६।९१ प्रतिशत, ४२।८७ प्रतिशत र ६४।४ प्रतिशत हो । राजस्व संकलन भने मंगलबारसम्म ८ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ मात्र भएको छ ।

प्रतिकृया