• 3:42 am

पशुपतिको जलहरी आज पुनर्स्थापना गरिँदै, दर्शनार्थीकाे प्रवेशलाई नरोकिने

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ११:१६

१३ असार २०८०, काठमाडौँ: अनुसन्धानको लागि आइतबार निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ। जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोसले जानकारी दिएको छ।


यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो । आज पुनर्स्थापनाको क्रमम पनि मन्दिर परिसर भित्रको उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले धर्मावलम्बीहरूलाई जान दिएका छैनन् ।


जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन । हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथमै भ्रष्टाचार भएको आशंकामा अनुसन्धान गर्न अख्तियारको टोली मन्दिरमै पुगेको हो । अनियमितताको अनुसन्धानका लागि अख्तियार मन्दिर प्रवेश गरेको सम्भवतः यो पहिलो घटना हो ।


पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीमा भएको भनिएको अनियमिततामाथिको अनुसन्धानले बल्ल तीव्रता पाएको छ । अनियमितताको उजुरीमाथि डेढ वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीका लागि खरिद गरिएको ११ किलो सुन गायब पारिएको विषयलाई केन्द्रमा राखेको छ। जलहरीकै तौल र गुणस्तर मापन गरेर टुङ्गोमा पुग्ने अख्तियारको तयारी छ ।

प्रतिकृया