• 4:09 am

जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ०४:१३

१२ असार २०८०, काठमाडौँ : सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रको विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् । ८ असार २०५७ मा सेवा प्रवेश गरेका उनले २६ कात्तिक २०७८ सम्म पारिश्रमिक बचत, अन्य भत्ता, छोरीको पारिश्रमिक, कृषि आय लगायतबाट १ करोड १३ लाख ४५ हजार ८०५ रुपयाँ ४३ पैसा आय गरेको अख्तियारको ठहर छ ।


तर यही अवधिमा जग्गा खरिद, घर निर्माण खर्च, शैक्षिक खर्च, सवारी साधन खरिद, उद्योग व्यवसायमा लगानी लगायत गरी २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले बताएको छ । यो रकम उनको वैध आम्दानी भन्दा १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवन यापन गरेको पुष्टि भएको बताएको छ ।


उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमतीहरु सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेकाले अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएर मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

प्रतिकृया