• 9:21 am

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ०३:५१

१२ असार २०८०, काठमाडौँ: ललिता निवास प्रकरणको अनुसन्धान फेरि सुरु गरेको प्रहरीले धमाधम अभियुक्त पक्राउ गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ ।


शाहलाई काठमाडौंबाटै पक्राउ गरिएको सीआइबी स्रोतले जानकारी दिएको छ । सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा ललिता निवासको एक रोपनी ११ आना जग्गा लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।


शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । त्यसअघि उनी मालपोत कार्यालयमा शाखा अधिकृत थिए । उनले गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाएका थिए ।


मालपोतमा हुँदा उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको र त्यसबापत जग्गा सित्तैमा लिएको पाइएको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन् ।


यसअघि भाटभटेनीका संचालक मीनबहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरेको थियो । शाह भन्दा अगाडी मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


यो प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा बनाउन ठूलो चलखेल भएको समाचार प्रकाशित भए पनि राजनीतिक दबाबमा यो मुद्दा सामसुम पारिएको थियो ।

प्रतिकृया