• 8:29 am

महिला आश्रय सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार १२:५५

११ असार २०८०, काठमाडौँ: तीनदिने महिला आश्रय गृहको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँमा आइतबारदेखि सुरु भएको छ । काठमाडौँको बुढानीलकण्ठमा साथी संस्था लगायतका आश्रयगृहहरुको संयुक्त आयोजनामा सञ्चालित सम्मेलनमा नेपालका झन्डै ३० भन्दा बढी आश्रय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।


सम्मेलनको उद्घाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले वृक्षमा सिँचाइ गरेर गर्नुभएको थियो । असार १० देखि १२ गते सम्म चल्ने उक्त कार्यक्रममा देशभरिका हिंसामा परेका र पारिएका महिला तथा बालबालिकाहरुको अवस्थालाई छलफल गरी काठमाडौँमै घोषणापत्र जारी गरिनेछ ।


नेपालमा लैङ्गिक हिंसा पीडित/ प्रभावितहरूका लागि महिला आश्रय सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा सुरु भएको उक्त सम्मेलनले लैङ्गिक हिंसाका समस्यालाई सम्बोधन गर्ने र प्रभावकारी आश्रय गृह सेवामार्फत महिला तथा बालबालिकाको सशक्तीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ ।


सम्मेलनमा झन्डै २ सय जनाको सहभागिता रहेको छ । नेपाल सरकारका प्रमुख तथा प्रतिनिधि, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, आश्रय गृह सञ्चालक तथा व्यवस्थापक, एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रतिनिधि, लैङ्गिक विज्ञ, लैङ्गिक हिंसा पीडित ∕ प्रभावित, मनोसामाजिक परामर्शकर्ता,पत्रकार महिला, महिला अधिकारकर्मी सहभागी रहेका छन् ।


कार्यक्रममा आश्रय गृहसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरुका ६ समानान्तर विषयगत सत्रहरू र ३ पूर्ण सत्रहरू सञ्चालन हुने जानकारी गराइयो । सम्मेलनमा आश्रय गृह सञ्चालन सम्बन्धी मापदण्ड, नवीनतम मुद्दाहरू,प्रेषण संयन्त्र र पीडित केन्द्रित अवधारणा आदि रहेको जानकारी गराइयो ।


उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले हिंसा पीडित महिला तथा बालबालिकालाई न्याय र सशक्तीकरण सुनिश्चित गर्न आश्रय स्थलले दिने सेवाको गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले, ‘आश्रय गृह सेवा सशक्तीकरणमा टेवा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा महिला हिंसामा परेका ४ हजार महिलाको उद्धार गरिसकेकोमा साथी संस्था लगायतका संस्थाहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सामाजिक सोचमा परिवर्तन नभएसम्म महिला हिंसामा न्यूनीकरण गर्न सम्भव छैन । महिलालाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर विश्वले हाल सम्म ४ वटा सम्मेलन गरिसकेको छ । नेपालले पनि त्यसको अनुसरण गर्नेछ । यस्ता घटनालाई कमी ल्याउन मनोपरामर्श र घटना हुँदै नदिन जोड दिनुपर्छ । धेरै संस्था काठमाडौँ केन्द्रित छन् विकेन्द्रीकरणका लागि सोच्न अपिल गर्न चाहन्छु । तीन दिने सम्मेलनले नयाँ सोचको विकास र योजना बन्ने विश्वास लिएको छु भन्नुभयो ।


राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालिकाको जीवन पुनर्निर्माणमा आश्रय सेवाले खेलेको महत्त्वपूर्ण भूमिकालाई जोड दिनुभयो । विभिन्न संघ संस्थाले आश्रय गृह सञ्चालन गरेर राज्यलाई सघाउँदै आएको छ । हरेक जिल्लाहरुमा एउटा एउटा आश्रय स्थल हुनुपर्छ । आश्रय स्थलमा आएर गम्भीर अवस्थामा पुगेका व्यक्ति दर्ता भई उपचारमा जाने लगायतका अवस्था सृजना भइसकेपछि घर फर्कने अवस्था रहँदैन तर अन्तमा यसको अभिभावकत्व राज्यले नै लिनुपर्छ भन्नुभयो । हिंसा पीडितहरू महिला मात्र छैनन्, बालिकाहरु पनि छन्, उनीहरुलाई शिक्षा र सुरक्षाको विषय छन् । पहिला सासू ससुराबाट महिला पीडित थिए भने अहिले छोरा, बुहारीहरुबाट अपहेलित ज्येष्ठ नागरिकको अवस्था हेर्न टाढा जानुपदैदैन । महिला आयोगले यस्ता घटना हेर्न तत्काल आश्रय स्थलमा पठाउने गर्छ । अपाङ्गता भएका र मानसिक समस्या भएकाहरूका लागि आश्रय स्थल नै छैन । आश्रय स्थलमा हुने हमलाको सुरक्षा अर्को समस्या छ ।


धनगढीमा काठमाडौँमा विश्व विद्यालयमा अध्ययन पूरा गरी ६० जना भन्दा बढी मानसिक समस्या भएका व्यक्तिलाई राखेको आश्रय स्थलमा आगलागी गराइयो । यस्तो अवस्थाको जिम्मेवार सरकार हुनुपर्छ । लैङ्गिक हिंसा निवारणका लागि सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा सांसद डा. आरजु राणा देउवाले नेपालमा आश्रय आन्दोलनको इतिहास झल्काउँदै उपलब्धि, चुनौती र अबको बाटोमा प्रकाश पार्नु भयो । उहाँले आश्रय स्थलहरूले पीडित ∕ प्रभावितलाई सहयोग प्रदान गर्नुका साथै लैङ्गिक हिंसाको रोकथाममा जोड दिनु पर्ने बताउनुभयो । उहाँले, “महिला आश्रय स्थलबाट व्यवस्थापन गरिएका केस, तथ्याङ्क र अन्य प्रमाणलाई लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी नीति तथा नियमहरूमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कानुन निर्माता र महिला अधिकारकर्मीको हैसियतमा आश्रय केन्द्रहरूसँग सम्बन्धित नीतिका साथै आश्रय सेवाहरूको अनुगमन र नियमनलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।“ महिलाका स्वास्थ्य समस्या पनि उत्तिकै गम्भीर छन् तर, यस विषयमा आवाज उठ्नै नसकेको अवस्थामा यो सम्मेलनले ल्याउने निचोडको पूर्ण समर्थन गर्न म लगायत नेपाल सरकारले साथ दिनेछ भन्नुभयो । उहाँले जो हिंसामा परेका महिलाहरुलो हिम्मत गरेर अगाडि आउनुभयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु भन्नुभयो ।


युएन सिड समितिकी सदस्य तथा सम्मेलनको प्रवर्तक तथा ग्लोबल नेटवर्क अफ वुमन शेल्टर्सकी सह–संस्थापक तथा पूर्व सह संस्थापक वन्दना राणाले आश्रय गृह आन्दोलनलाई राष्ट्रिय र विश्वव्यापी रूपमा अगाडि बढाउने आफ्नो अनुभवमा जोड दिनुभयो । उहाँले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा आश्रय गृह सञ्चालन गर्ने विभिन्न संघ संस्थाहरुकोे संयुक्त प्रयास र आश्रय गृह सेवाहरूमा आएको नयाँ प्रवृत्ति र दृष्टिकोणको उदयलाई जोड दिँदै यस सम्मेलनले सबै सरोकारवालाहरूलाई उपलब्धि / चुनौतीहरू प्रतिबिम्बित गर्ने र एक अर्काबाट सिक्ने अवसर प्रदान गर्ने बताउनु भयो । “ आश्रय गृह सञ्चालहकहरुको संयुक्त प्रयासले समाज र घरबाट अपहेलित भएका लैङ्गिक हिंसा पीडित ∕ प्रभावितका विविध आवश्यकताहरू र गुणस्तरीय सेवाहरूलाई सम्बोधन गर्न मद्दत गर्छ,उहाँले थप्नुभयो ।


यूएनएफपीएका नेपाल प्रतिनिधि वोन योङ होङले लैङ्गिक हिंसा रोकथामका लागि यूएनएफपीएको समर्थन रहने बताउनुभयो । उहाँले नेपाली महिलाहरुले जुन साहस गरेर अगाडि आएर बोल्नुभयो हामीले पनि त्यसरी नै अगाडि बढाउन के के गर्नुपर्छ साथ दिएर अघि बढौँ भन्नुभयो ।


साथीका अध्यक्ष सजनी अमात्यले सम्मेलनले महिला आश्रयलाई थप समावेशी र महिला तथा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न नीतिगत निर्देशन दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


साथी संस्थाका सहसंस्थापक,निवर्तमान अध्यक्ष महिला आश्रय गृह राष्ट्रिय सञ्जालका संस्थापक उमा राज्यलक्ष्मी शाहले कोभिड–१९ ले आश्रय गृह सञ्चालकहरूलाई सामूहिक अभियानको आवश्यकता महसुस गरेको बताउनु भयो । “आवश्यक सेवाको सूचीमा नपरेकोले आश्रय सेवाहरूले कोभिड १९ महामारी र त्यसपछिको बन्दाबन्दीमा ठूलो कठिनाइहरूको सामना गर्नुपरेको थियो । घरेलु हिंसा बढ्दै जाँदा आश्रयहरूको आवश्यकता सबैभन्दा बढी देखिएको बताउनुभयो । यो आवश्यकतालाई सम्बोधन गर्न आश्रय गृह सेवा सञ्चालकहरूको सामूहिक अभियान महत्त्वपूर्ण थियो ।“ शाहले थप जानकारी दिँदै भन्नुभयो।


साथीले २०२० मा राष्ट्रिय आश्रय गृह सञ्जालको थालनी गरेको थियो र हाल यसको सचिवालयको रूपमा काम गरिरहेको छ,यसले सहकार्यलाई सहजीकरण गर्दै आश्रय गृह सेवाहरूलाई नेपालमा आवश्यक सेवाको रूपमा मान्यता दिन वकालत गर्दै आएको छ।“अत्यावश्यक सेवाहरूको रूपमा सूचीबद्ध नभएको कारण महामारी र त्यसपछिको बन्दाबन्दीको समयमा आश्रय गृहहरु सञ्चालन गर्न ठूलो कठिनाइहरूको सामना गर्नुपरेको थियो। घरेलु हिंसा बढेको कोभिड १९ को समयमा आश्रयको आवश्यकता सबैभन्दा बढी महसुस भएको थियो, उहाँले थप्नुभयो ।


कार्यक्रममा शक्ति समूहका पीडित ∕ प्रभावितहरूले लैङ्गिक हिंसालाई चित्रण गर्ने नृत्य प्रस्तुत गरेका थिए। पीडित महिलाहरूले पनि आश्रय स्थलहरूमा आएपछि उनीहरूको जीवन कसरी परिवर्तन भयो भनेर प्रकाश पार्दै आफ्ना कथा र अनुभवहरू साझा गरे ।



सम्मेलनले आश्रय गृह सञ्चालकबिचको सहकार्य र समन्वयलाई बढवा दिने, सेवाहरूको गुणस्तर बढाउन, समान आश्रय गृह सम्बन्धी नीतिहरू स्थापना गर्ने र साझा सिकाइलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ। यसले आश्रय गृहरहरुबीच मुद्दाहरुको आन्तरिक प्रेषण अभ्यासहरू सुधार गर्न र हिंसाको अनुभव गरिरहेका महिला र किशोरीहरूको विविध आवश्यकताहरूलाई राम्रोसँग सम्बोधन गर्न राष्ट्रिय प्रेषण संयन्त्रको स्थापनाको लागि वकालत गर्नेछ। महामारी र मानवीय संकटको समयमा आश्रय सेवाको महत्वलाई पहिचान गर्दै, सञ्जालले सरकारलाई आश्रय गृह सेवालाई अत्यावश्यक सेवाको रूपमा तोक्न र आवश्यक सहयोग प्रदान गर्न अनुरोध गर्नेछ ।


सम्मेलनले असल अभ्यास तथा सिकाईहरुको अनुभव साझा गर्ने हिंसा विरुद्ध सामूहिक आवाज प्रवर्द्धन र महिला तथा बालिकाको अधिकार, सुरक्षा र सशक्तीकरणको वकालत गर्ने मञ्चको रूपमा कार्य गर्नेछ। यसले आश्रय सेवाहरूलाई सुदृढ गर्न, समावेशीता, दिगोपन सुनिश्चित गर्न र पीडित–केन्द्रित अवधारणा अपनाउन साझा सिफारिसहरूको विकास गर्नेछ । सम्मेलने पारित गरेका घोषणा तथा प्रतिबद्धताहरुलाई सम्बन्धित निकायहरुमा पेस गर्ने तथा यी प्रस्तावहरू भविष्यमा आश्रय गृहको सुदृढीकरणका लागि एक महत्त्वपूर्ण दस्ताबेजको रुपमा रहने जानकारी गराइयो ।

प्रतिकृया