आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान अवतरण हुने

प्रकाशित मिति

२०८० असार ६ गते, बुधबार ०८:३२

sich2 fG0dFLTuvU e1687315639351

६ असार २०८०, काठमाडौँ: आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलाइन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो । सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।


जहाजबाट एक सय ३५ जना यात्रु पोखरा ओर्लने विमानस्थलका सूचना अधिकारी अधिकारीले बताए । उक्त जहाज बुधबार नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ ।


अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै हुँदै आएको छ ।

प्रतिकृया