
आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल टस जितेर पहिले बलिङ गर्ने
प्रकाशित मिति
२०८० असार ५ गते, मंगलवार १२:५१

५ असार २०८०, काठमाडौँ : आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल आज अमेरिका सँगै भिड्दै छ। खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँस १२:४५ बजे सुरु हुनेछ ।
खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ। सोमपाल यसअघि जिम्बावेविरुद्धको खेलमा घाइते भएका थिए। नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने।
पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए। यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए।
सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ।
नेपाल र अमेरिकाबीच भएका पछिल्ला ६ एकदिवसीय खेल मध्ये नेपाल तीन र अमेरिका दुई खेलम विजयी भएका छन्। एक खेल भने बराबरीमा सकिएको छ।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
आज अमेरिकासँग खेलेपछि नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।
पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।
प्रतिकृया