• 10:10 am

दक्षिणकाली नगरपालिका भित्रका केही विकास निर्माणसम्बन्धी भैरहेको कार्य सम्बन्धी एक सिंहावलाेकन

प्रकाशित मिति

२०८० असार ५ गते, मंगलवार १२:१०

५ असार २०८०, काठमाडौँ: काठमाडौं जिल्लाबाट निकै नजिक रहेको र काठमाडौं जिल्लाबाट दक्षिण क्षेत्रमा अवस्थित रहेको नवघोषित दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ । पूर्वमा ललितपुर जिल्ला, पश्चिममा मकवानपुर जिल्ला, उत्तरमा कीर्तिपुर, चन्द्रागिरी नगरपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेको यस दक्षिणकाली नगरपालिकाको घोषणा मिति २०७१ मंसिर १६ गते नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयानुसार साविक चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गा.वि.स.लाई समेटेर स्थापना भएको हो । देशको राजधानी काठमाडौं उपत्यकादेखि करिव १८ कि.मी.को दुरीमा यो नगरपालिकाको कार्यालय रहेको छ ।


यो नगरपालिकाको स्थलगत अध्ययन र विभिन्न लब्धप्रतिष्ठित व्यक्तिहरुसँग कुराकानी पश्चात यस नगरपालिकाको स्वास्थ्य, कृषि, शिक्षा र पर्यटन लगायतका विषयहरुमा प्रकाश पार्न हामीले कोशिस गरेका छौं । स्वास्थ्य क्षेत्रका कुरा गर्ने हो भने महिलाहरुको लागि विभिन्न खालको स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविरहरु नगरपालिकाले बेलाबेलामा संचालन गर्ने गरेको पाइएको छ । नगरपालिकाको सम्पर्कमा रहेका अनुभवी चार पाँच जना डाक्टरलाई समय समयमा नगरपालिकामा लगेर पनि उपचार गराउने र बेला बेलामा शिविर पनि आयोजना गर्ने गर्दछ । जेष्ठ नागरिकका लागि नगरपालिकाले बर्षको कार्यतालिका बनाएर नै महिनाको एक दिन जेष्ठ नागरिकको घर सम्म स्वस्थकर्मी पुग्ने र उहाँहरुलाई न्यूनतम केही औषधि घरमै उपलब्ध गराउन सकिने व्यवस्था मिलाएको छ ।


त्यसैगरी शिक्षाका विकासको लागि नगर भित्र रहेका सरकारी, सार्वजनिक र संथागत तिनै तहका विद्यालयहरुलाई नगरले सक्ने किसिमको सहयोग गरेको छ । तर सरकारी विद्यालयमा चाहिं त्यहाँका भौतिक संरचना सुधारदेखि हिजोका दिनमा रहेको टिनको छानो भएका विद्यालय भत्काएर पक्की भवन निर्माण गरिसकिएको छ र गुणस्तर शिक्षाका लागी शिक्षकहरुलाई तालिम दिइरहेको छ । विद्यालयमा खाजा कार्यक्रम अन्तर्गत गुणस्तरीय खाजाको व्यवस्था गरिएको छ । यती मात्रै नभएर स्थानीय पाठ्यक्रमबाट अध्ययन अध्यापन गराउने काम पनि अघि बढाएको छ । यसरी पाठ्यक्रम मात्रै नभएर आउने शैक्षिक सत्र देखि स्थानीय पाठ्यपुस्तक उपलब्ध गराउने पनि काम गरिरहेको छ ।


त्यसैगरी दक्षिणकाली नगरपालिका पर्याप्त पर्यटकीय सम्भावना बोकेको नगरपालिका हो । प्राकृतिक छटा र सुन्दर तथा मनोरम प्राकृतिक सुन्दरताले जसको पनि मन मन्त्रमुग्ध हुन्छ । धार्मिक गरिमा तथा प्राकृतिम सुन्दरता बोकेको यो नगरपालिकामा काठमाडौँ उपत्यकाबाट करिब सोह् देखि अठार किलो मिटरमा आउँदा एकदमै पवित्र स्थल दक्षिणकाली माताको मन्दिर अवस्थित छ । किंवदन्ती अनुसार यहाँ तेतिसकोटी देवि देवताको मन्दिर छ भन्ने गरिन्छ र त्यस भित्रको पनि लोकप्रिय मन्दिर दक्षिणकाली, गोपालेश्वर, शेषनारायण, गोरखनाथ,वज्रयोगीनी देखि अन्य लोकप्रिय मन्दिरहरु भएको यो ठाँउ हो । काठमाडौँमा उकुसमुकुस हँुदा मनको आनन्दका लागि पनि उपयुक्त ठाँउ रहेको छ । यतिमात्रै नभएर यो भूगोल यस्तो भूगोल छ कि चम्पादेवीको माथि टुप्पामा पुग्यो भने काठमाडौंका तिनै शहर काठमाडौँ, भक्तपुर, ललितपुर लगायत किर्तिपुर पनि राम्रोसँग नियाल्न सकिन्छ । यो भूमि निकै पवित्र छ । अहिलेको अवस्थामा आन्तरिक र वाह्य पर्यटकहरुले त्यो दृश्य अवलोकन गर्नको लागि नगरपालिकाले पदयात्राको पनि कार्यक्रम गर्ने बताएको छ । यसरी यी धार्मिक र अन्य पर्यटकहरुलाई नगरक्षेत्रमा ल्याउन सकेमा आर्थिक समृद्धिको बाटो हो भनी आफूले ठम्याएको नगरपालिकाका मेयरले मातृभूमिलाई बताए ।


हामीले दक्षिणकाली नगरपालिकाको ९ वटै वडाध्यक्षहरुलाई गएको कार्यकालमा वडामा के कस्ता विकास निर्माणका कार्यहरु भए, वडाको विकास र उन्नतिको लागि के कस्ता योजनाहरु अवलम्बन गरिएका छन् र आगामी कार्ययोजनाहरु के के छन् ? शिक्षा, कृषि, पर्यटन र स्वास्थ्यको वडामा स्थिति कस्तो छ र यसको सुधारको लागि के कस्ता प्रयासहरु भएका छन् भनेर भलाकुसारी गरेका थियौं । यस सम्बन्धमा उनीहरुबाट आएको उत्तरलाई समावेश गरी हामीले यो प्रगति विवरण तयार गरेका छौं । प्रस्तुत छ नौ वटै वडाध्यक्षसँगको कुराकानीमा उनीहरुले राखेको विचारको शब्दचित्र ।


मोहन बस्नेत, नगर प्रमुख, दक्षिणकाली नगरपालिकाः यो नगरपालिकाको तत्कालै सम्बोधन नगरि नहुने समस्या भनेको काठमाडौँ दक्षिणकाली देखि हेटौँडा सम्मको जुन बाटो छ जसमा सबै निकायका ठूला साना व्यक्तिहरुले भोगि सकेका खाल्डा र असहजको जुन परिस्थिति छ यसलाई तत्कालै सरकारले अविलम्ब ठेक्का पक्रियालाई एकदम छिटो बनाएर काम गर्ने परिस्थिति निर्माण गर्न सकियो भने सबैको लागि राम्रो हुन्छ । दोस्रो भनेको दक्षिणकाली नगरपालिका भूगोलको हिसाबले निकै ठुलो तर आर्थिक हिसाबले अन्य महानगरको एउटा वडालाई आउने स्रोत हामीलाई आउँछ । यस कारणले गर्दा एकदम कठिन भएको छ । यो नगरपालिकामा एउटा डाँडाको कुनामा दश घर हुन्छ अर्काे डाँडामा पाँच घर हुन्छ तर दुवैलाई खानेपानी र टेलिफोनको समस्या हुन्छ विजुलीको समस्या हुन्छ । यो समस्यालाई बुझेर जनतालाई सन्तुष्टि गराउन एकदमै कठिन छ । यो भुगोल बुझेर संघीय सरकारले भूगोललाई प्राथमिकता देओस् यहाँ जनसंख्यालाई प्राथमिकता दिंदा जनसंख्याका हिसाबले २६ हजार छौँ । यतीले पाउने अनुदान अत्यन्तै न्यून रह्यो । यसरी जनसंख्याको हिसाबले बजेट आउँदा भौगोलिक विकासमाकाम गर्न निकै कठिन हुने गरेको छ । तपाईको कार्यक्रमबाट सरकारले यो सुनेर भूगोलको आधारमा बजेट विनियोजन गरोस्, कमसेकम २, ४ करोड देओस् । तर हामीलाई जनसंख्यालाई आधार मानेर आर्थिक स्रोत आउँदा निकै कठिन भएको छ ।



पशुपालन गर्ने कृषकहरुको लागि हामीले पशु बिमा निःशुल्क गरेका छौं : वडाध्यक्ष जय थापा मगर, वडा नं. १
शिक्षाः हाम्रो वडामा दुइवटा सामुदायिक स्कुल छ । एउटा ८ कक्षासम्मको छ भने अर्को १० कक्षासम्मको छ । एउटा चान्लाखेल आदरभूत विद्यालय छ भने अर्को चम्पादेवी माध्यमिक विद्यालय छ । चम्पादेवी माध्यमिक विद्यालय भुकम्पपछि अलि क्षति भएको भएर भारतीय सरकारको सहयोगमा २ वटा ठूला ठूला भवन सम्पन्न हुने क्रममा छ । हामीले खुला विद्यालय चलाएका छौं । यसमा ८ कक्षा र १० कक्षाको पढाई हुन्छ र सरकारबाट स्वीकृत लिएको हुन्छ र जुनसुकै उमेर समुहका मानिसहरुले पनि त्यहाँ पढ्न पाउँछन् । यसको पढाई बिहानमा हुन्छ र खुला विद्यालयमा पढ्ने विद्यार्थीहरुको परिक्षा बालबालिका पढेकै बोर्डबाट हुन्छ । प्रमाणपत्रमा फरक खालको खुल्ला विद्यालय भनेर आउँदैन । खुला विद्यालयमा बिहान ६ बजेदेखि ९ बजेसम्म पढाई हुन्छ । ६ बजेदेखि ७ बजेसम्म पढे पनि भयो, ७ बजेदेखि ८ बजेसम्म पढे पनि भयो । भ्याएको बेलामा पढ्ने हो । यो सरकारकै अवधारणा हो । नीजि स्कुलहरु ३ वटा छन् ।

स्वास्थ्य स्थितिः हाम्रो दक्षिणकाली नगरपालिका भरिमा एउटा ठूला स्वास्थ्य केन्द्र प्राथमिक स्वास्थ्य केन्द्र हाम्रै वडामा छ । स्वास्थ्य केन्द्र हाम्रै वडामा भएको कारणले अरु ८ वटा वडाभन्दा यहाँ बढी सुविधा हुन्छ । यो स्वास्थ्य केन्द्रको नाम चान्लाखेल सामुदायिक स्वास्थ्य केन्द्र हो । यो भन्दा अगाडि कोभिडको समयमा पनि त्यो प्राथमिक स्वास्थ्य केन्द्रमा हामीले आइसोलेसन केन्द्र चलाएका थियौं । नगरभरिका मानिसहरुलाई कसैलाई कोभिड लाग्यो भने घरमा बस्न नचाहने मानिसहरुलाई हामीले यहाँ ल्याएर राखेका थियौं । यहाँ खान, बस्न, स्वास्थ्य उपचार सबै निःशुल्क गरेका थियौं । अलि गाह्रो भयो भने अस्पताल पठाउँथ्यौं भने सामान्य अवस्थामा यहाँ ल्याउँथ्यौं । वृद्ध, वृद्धाको लागि घरदैलो कार्यक्रम छ । आ– आफ्नो टोलको स्वयमसेविकाहरु जानुहुन्छ । साधारण चेकअप गर्न स्टाफ नर्स सहित स्वास्थ्यकर्मीहरु जान्छन् । जेष्ठ नागरिकहरुको लागि घरदैलो भन्ने कार्यक्रम छ । हाम्रो नगरपालिकाले यो भन्दा अगाडि देखि स्वास्थ्य बीमा लागू गरेको छ । स्वास्थ्य बीमा लागू गरेपछि पहिलो उपचार गर्ने केन्द्र स्वास्थ्य उपचार केन्द्र हो । यो नेपाल सरकारको नीति हो । स्वास्थ्य केन्द्र कार्यक्रम भनेको वर्षको एउटा परिवारलाई १ लाख बराबरको उपचार गरिदिनु हो । यो स्वास्थ्य बीमा सरकारी अस्पतालमा हुन्छ जस्तै वीर अस्पताल, टिचिङ अस्पताल जस्ता ठूला ठूला सरकारी अस्पतालमाा हुन्छ । सिधै जान पाउनुहुन्न । पहिला हाम्रो स्वास्थ्य केन्द्रमा आउनुहुन्छ । त्यहाँ उपचार भयो भने भयो, भएन भने त्यहाँ जानुहुन्छ ।

कृषिः सामान्य रुपमा चलेकै छ । हाम्रो वडामा मानिसहरु बंगुरपालन, सिजनल तरकारी खेती तथा बाख्रा पालन र गाई पालनमा संलग्न छन् । हाम्रो वडाभित्र डेरी पनि छ । पशुपालन गर्ने कृषकहरुको लागि हामीले पशु बिमा निःशुल्क गरेका छौं । अहिले तीन तहको सरकार छ । एउटा संघीय सरकार, एउटा स्थानीय सरकार र प्रदेश सरकार । एउटा किसानलाई एउटा गाईको बीमा गर्नुप-यो भने ८० प्रतिशत नेपाल सरकारले दिन्छ, २० प्रतिशत किसानले हाल्ने हो । अहिले २० प्रतिशत नगरपालिकाले हाल्ने नीति ल्याएको छ । बाख्रा, गाई र भैंसी सबैको बीमा गरिसकेको छ ।

पर्यटन तथा सडकः पर्यटनको विकास गर्नलाई पार्कहरु बनाउने र प्रचारप्रसारको कामहरु भैरहेको छ । अहिले यसपालि सडकको स्तरोन्नतिको लागि भर्खर काम शुरु भएको छ । यो असार सम्ममा काम सक्याउने ढंगले तिव्र गतिमा काम भैरहेको छ । पीच गर्ने काम भैरहेको छ ।

खानेपानी : खानेपानीको स्थिति राम्रो छ । हामी झण्डै ११०० घरधुरीलाई खानेपानी दिन्छौं । सार्वजनिक धारा ठाउँ ठाउँमा छ भने सबैलाई धाराको अवधारणा ल्याएर ११०० जति धाराहरु बाँडिसकेको छ । हाम्रो वडा एकतिरको भाग अग्लो छ भने अर्कोतिर होंचो छ । होंचो ठाउँबाट डबल पम्पिङ गरेर पानी माथि पठाई जनतालाई पानी खान दिइराखेका छौं ।

अन्तमा केही : समग्रमा ठीकै छ । अहिले समाज हिंजो भन्दा फरक भैसकेको छ । मानिसहरुको सोंच्न सक्ने शक्तिमा वृद्धि भएको छ । समाज नेगेटिभ नेगेटिभ तिर गैराखेको छ । चियापसलमाा बस्ने जनप्रतिनिधिलाई गाली गर्ने, कर्मचारीलाई गाली गर्ने जस्ता प्रवृत्तिहरु अन्त गर्नुपर्दछ । भौतिक रुपमाा मात्र विकास भएर भएन । तपाईको घर अगाडि बाटो चिल्लो छ त्यहाँ अगाडि फोहोर खस्यो भने जनप्रतिनिधिले टिप्नु पर्दछ भन्ने जुन वातावरण छ त्यसलाई अन्त्य गर्नुपर्दछ । मानिस सामाजिक प्राणी भएपछि समाजमा सबैको दायित्व बराबर हुन्छ भन्ने कुरा सिकाउनु पर्दछ । टाइ कोट लगाएर हिंड्छ, मोटरसाइकलमा फोहोर झुण्ड्याउने र अरुले नदेख्ने गरी फुत्त फालिदिने यस्तो प्रवृत्ति छ । त्यही मानिसले हामीलाई कराइराखेको हुन्छ । यस्तो मैले धेरै देखेको छु । अधिकृत जस्तो मानिस टाइ सुट लगाएर हिंडेको हुन्छ, फोहोर फुत्त फालेको हुन्छ । हामीले भौतिक रुपमा भन्दा पनि नैतिक रुपमा युवाहरुलाई कसरी विकास गर्ने त्यसमा जोड दिन यो आर्थिक वर्षमा खोजिराखेका छौं । मानिस सामाजिक प्राणी हो, सरकार र स्थानीय निकायले मात्र एक्लै सक्दैन, सबै जनताको सहमागि हुनुपर्दछ भन्ने हाम्रो सोंचाई हो । सबै मानिस मिलिजुली समाजको उन्नति र प्रगतिको लागि हातेमालो गरेर अगाडि बढ्नुपर्दछ ।

देशभरि नै सबैलाई बोर्डिङ स्कुलमा पढ्नुपर्ने फेसन चलेको छ र सार्वजनिक विद्यालयलाई हेला गर्ने प्रवृत्ति छ जुन राम्रो होइन : वडाध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं. २

हामीले रामचन्द्र सुवेदीलाई वडा नं. २ को शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका विषयहरुमा राखेका प्रश्नको उनले दिएको उत्तरको आधारमा तयार गरिएको रिपोर्ट

शिक्षाः हाम्रो क्षेत्र करिब करिब ७ किलोमिटर लामो छ । शुरुमा खोकना माध्यमिक विद्यालय छ भने अन्तिममा कामधेनु माध्यमिक विद्यालय छ । कामधेनु माध्यमिक विद्यालयमा हामीले गत तीन वर्ष अगाडि देखि नै डिप्लोमा कृषिको पढाई संचालन गरिराखेका छौं । हामीसँग ठाउँको राम्रो सुविधा छ र जमीन पनि प्रशस्त छ । तर यातायातको असुविधाको कारणले गर्दा विद्यार्थीहरु नआएर पहिलो वर्षमा नै हामीले भर्ना गर्न सकेनौ । संचालन गर्ने त सोचिराखेका छौं तर विद्यार्थी नै भएन भने कसरी संचालन गर्ने ? स्कुलमा गत वर्ष भन्दा विद्यार्थी त अलि अलि बढेको छ । देशभरि नै सबैलाई बोर्डिङ स्कुलमा पढ्नुपर्ने फेसन चलेको छ । घरमा खान नभए पनि बोर्डिङ स्कुलमा आफ्नो बच्चाबच्चीलाई पढाउने चलन छ । जबसम्म गाउँका स्थानीय जनताले यो हाम्रो पुर्खाले गरेको हो, यसलाई बचाउनु छ, फलाउनु छ भन्ने धारणा आउँदैन, जनप्रतिनिधिले मात्र गर्न खोजेर हुँदैन । तर शिक्षा क्षेत्रमा उन्नति होस् भनेर हाम्रो प्रयास जारी छ । नारा पनि छ नि गास, वास, कपास, शिक्षा र रोजगारी । विना शिक्षा रोजगारी पाउने सम्भावना नै हुँदैन । हाम्रो प्रयास जारी छ । स्कुललाई बजेट छुट्याएकै छौं ।

स्वास्थ्यः हामीकहाँ शहरी स्वास्थ्य केन्द्र पनि छ । अर्को प्रिन्सेप स्मृति स्वास्थ्य भन्ने पनि छ । त्यसमा हप्ताको दुई पटक डाक्टरहरु आउनुहुन्छ सोमबार र बिहीबार । शहरी स्वास्थ्य केन्द्र त सँधै नियमित नै भैहाल्छ । त्यसबाहेक हामीहरुले निःशुल्क स्वास्थ्य शिवीरहरु पनि संचालन गर्ने गरेका छौं । बाहिरबाट पनि त्यस्तो स्वास्थ्य शिविरहरु भैराखेका छन् । यसबाहेक उच्च प्रभावित रोगी बाआमाहरुलाई सरकारले दिने बाहेकको औषधि पनि किनिदिने गरिराखेका छौं, स्वास्थ्यमा हामीले प्रगति नै गरिराखेका छौं ।

कृषिः दक्षिणकाली नगरपालिकामा कृषिशाखा नै छ । हामीले कृषि बिमा पनि गरिराखेका छौं । त्यसैगरी हामीले नगरपालिकाबाट उत्कृष्ट कृषकहरुलाई पहिलो वर्ष १२ लाख र दोश्रो वर्ष ६ लाख गरेर अनुदान दिएकाा छौं । राम्रो काम गर्नेलाई हौसला स्वरुप पुरस्कार दिएर कृषिलाई पनि प्राथमिकतामा नै राखेका छौं । कृषिमा ५० प्रतिशतमा बीउ बिजन बाँडिराखेका छौं । बजेट नै छैन भन्ने सुनिराखेको छु ।

खानेपानीः हाम्रोमा खानेपानीको स्थिति राम्रो छ । ९९ प्रतिशत नै हाम्रो खानेपानीको राम्रो व्यवस्था छ । सार्वजनिक धारा र घरघरमै धाराहरु पनि छन् ।

पर्यटनः हामीकहाँ दक्षिणकाली लगायत थुप्रै मठमन्दिरहरु छन् । आय हुने ठाउँमा श्रमिकहरुले गरिराखेका छन् भने आय नहुने ठाउँमा पनि भक्तजनहरुले नियमित पूजा गरिराखेका छन् । हामीले बेला बेलामा चाडपर्वहरु मनाउन र जात्राहरु मनाउन नगरपालिकाबाट बजेट विनियोजन गरेकै छौं ।
दक्षिणकालीमा चाहिं आयआर्जन गर्न सकेको छ । अन्यत्र त त्यस्तो आयआर्जन छैन । दैनिक पूजा गर्ने र जात्रा चलाउने त्यस्तै मात्र हो ।

सडकः यो नगरपालिका मात्र नभएर कति ग्रामीण क्षेत्र पनि छन् । बजेट सीमित हुन्छ, सबै ठाउँमा एकैपल्ट बाटो बन्नुपर्ने भन्ने हुन्छ । अहिले हाम्रोमा २ नम्बर वडामा पनि राम्रोसँग बाटो बन्दैछ । समग्र ९ वटै वडामा बाटोहरु बन्दैछ । बाटोको अवस्था कमजोर र नाजुक अवस्था छ तर अहिले विस्तारै बन्दैछ । बाटोको ट्रयाक खोल्ने हाम्रो योजना छ ।

मासिक रुपमा जेष्ठ नागरिकका लागि घरदैलो अभियान सञ्चालन गरी प्रेसर, सुगर लगायतका उपचार गरी रहेका छौँ : वडाध्यक्ष प्रचण्डमान बस्नेत, वडा नं. ३

शिक्षाः यस वडामा दुइटा सामुदायिक विद्यालयहरु एउटा श्री गणेश आधारभुत विद्यालय र अर्को सेतीदेवी माध्यमिक विद्यालय र नीजिमा जुनकिरी विद्यालय रहेको छ । यस गणेश आधारभुत विद्यालयमा जन प्रतिनीधि युवाहरु नै रहेका छन् । सामुदायिक, निजी विद्यालयहरुलाई कसरी सबैको पहुँचमा पु-याउन सकिन्छ र यसको शिक्षा गुणस्तर वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो प्राथमिकता हो । हामीले जनप्रतिनिधिहरुको र स्कूलसँग समन्वय गरेर बेला बेलामा निरीक्षण, त्यहाँको आवश्यकतालाई पहिचान गरेर बजेटदेखि पूर्वाधार सम्मको बारेमा छलफल गर्ने गरेका छौँ । विद्यालयको आवश्यकतालाई हेरेर बजेट बिनियोजन गरेका छौँ ।

स्वास्थ्यः यस वडामा सहरी विकास केन्द्रबाट स्वास्थ्य सुविधा दिइरहेका छौँ । मासिक रुपमा जेष्ठ नागरिकका लागि घरदैलो अभियान सञ्चालन गरी प्रेसर, सुगर लगायतका उपचार गरी रहेका छौँ । जनप्रतिनीधिहरु पनि उहाँहरुको स्थिती बुझ्नको लागि स्थलगत भ्रमण गर्ने गरेका छौँ । सहरी विकास केन्द्र र जनप्रतिनिधिहरु स्थलगत भ्रमण अनुगमन गरि बुढापाकाहरुको खानपान, रोगीहरुको अवस्था, समस्या, उहाँहरुको आवश्यकताको पहिचान गर्ने र बजेट बिनियोजन पनि गर्ने गरेका छौँ ।

कृषिः हाम्रो वडाले कृषि योग्य जमीन ओगटेको छ । यहाँका जनताहरु पनि कृषिमै आवद्ध र आधारित छन् । यसका लागि नगरपालिकाले विशेष बजेट विनियोजन गरेर विभिन्न सहकारी संस्थाहरु खोलेका छन् । सबैसँग समन्वय गरेर के कस्ता किसानहरुलाई सेवा सुविधा दिन सकिन्छ भन्नेमा हाम्रो जोड रहेको छ । किसानका आवश्यकता अनुरुप बजेट विनियोजन गर्ने योजना रहेको छ र यसरी नै कार्य अघि बढेको छ । आधुनिक किसिमको कृषि प्रणाली वितरण गर्ने र बजेट विनियोजन गर्ने कार्य भइरहेको छ ।

पर्यटनः यो नगरपालिका ऐतिहासिक धार्मिक महत्व बोकेको महत्वपूर्ण क्षेत्र हो । यहाँ थुप्रै मन्दिरहरु रहेका छन् । धार्मिक आस्था रहेको क्षेत्र पनि हो । यस दक्षिणकाली नगरपालिकामा हामीले आगामी आर्थिक वर्षमा यस वडामा धार्मिक महत्वका मन्दिरहरुलाई संरक्षण र संवद्र्धनका लागि पर्यटन मन्त्रालयसंग सहकार्य गरेर बजेट माग गरिरकेका छौँ । केही रकम नगरपालिकाबाट विनियोजित भइरहेको छ । यसरी स्थानीय मठ मन्दिर संरक्षणका लागि स्थानीय गोष्ठी एवंम छलफल गर्ने गरेका छौँ । यो क्षेत्र काठमाडौँबाट नजिक र सबैको रोजाइमा रहेको क्षेत्र हो र यसको संरक्षण हाम्रो प्राथमिकतामा रहेको छ ।
यस संगै यस वडामा काठमाडौँकै पहिलो जलविद्युत गृह फर्पिङ जलविद्युत गृह पनि रहेको र यसको संरक्षण र संवद्र्धनको लागि वडा कार्यालयले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । साथै पर्यटन मन्त्रालयबाट यसका लागि आवश्यक बजेट विनियोजनको माग पनि गरिरहेका छौं ।

शिक्षकहरु र संचालक समितिका सदस्यले विद्यार्थी संख्या बढाउनको निम्ति घरदैलो कार्यक्रमहरु गरिराखेका छन् : वार्ड नं. ४ वडाध्यक्ष पुष्कर खड्का

शिक्षाः हामीकहाँ रहेका विद्यालयहरुमा सरकारी विद्यालयहरु नै मुख्य हुन् । त्यसको लागि आवश्यक पूर्वाधारको लागि केही बजेट छुट्याएर काम गरेको अवस्था छ । विद्यार्थी संख्या कम छ । शिक्षकहरु र संचालक समितिका सदस्यले विद्यार्थी संख्या बढाउनको निम्ति घरदैलो कार्यक्रमहरु गरिराखेका छन् । नीजि विद्यालयहरु छैन ।

स्वास्थ्यः नेपाल सरकारले लागू गरेको कार्यक्रमहरुलाई कार्यान्वयनमा ल्याएको अवस्था हो । त्यस्तो नयाँ नौलो कार्यक्रम ल्याउन सकिएको छैन । जेष्ठ नागरिकको घरदैलो कार्यक्रम संचालनमा ल्याइएको हो । स्वास्थ्य चौकी र भवनलाई अब नयाँ बनाउने कि भनेर लागिराखेका छौं । स्वास्थ्य चौकीमा एक जना एचए हुन्छ । ४, ५ जनाको दरबन्दी हो तर काजमा कहिले कता कहिले कता पठाएकोले अहिले ३, ४ जना छन् ।

कृषिः व्यवसायिक कृषि कमै छ तर पनि मानिसहरुको मुख्य पेशा कृषि नै हो । कृषि योग्य जमीन नै कम छ । कृषकहरुले सिजनल धान, मकै र गहुँ लगाउँछन् । त्यसबाहेक काक्रो र तरकारी खेतीहरु गर्दछन् । सीमी र बोडीहरु लगाउँदछन् ।

पर्यटनः हाम्रो वडामा चम्पादेवी पाउ छ, बाराही मन्दिर र नागेश्वर मन्दिर छ । मन्दिरहरुलाई धार्मिक पर्यटनको हिसाबकिताबले अहिले नगर र पर्यटन मन्त्रालयबीच पहिलो चरणको टेण्डरको काम भैसक्यो । माथि नेपालको झण्डा बनाइदैछ । पर्यटकीय हिसाबले कामहरु अघि बढीराखेको छ । त्यसको लागि नगर र वडा सँगसँगै लागिराखेको छ । धार्मिक पर्यटनबाट मानिसहरुले आर्य आर्जन गर्ने क्रम विस्तारै शुरुआत हुँदैछ । दक्षिणकाली मन्दिरको वरपर त मानिसहरुले गरिराखेका छन् । अहिले स्वदेशी पर्यटकहरु नै बढी आउँछन् । विदेशी पर्यटक खासै आउँदैनन् ।

अहिले सडकको स्तरोन्नतिको लागि काम धमाधम काम भैरहेको छ ।

चन्द्र शमशेरको पालामा बनेको एशियाकै दोश्रो जलविद्युत योजना पनि यही नगरपालिकामा अवस्थित छ : वडाध्यक्ष श्याम बहादुर क्षेत्री, वडा नं. ५
शिक्षाः मेरो वडामा ४ वटा माविहरु छन्, एउटा आधारभूत विद्यालय छ । म वडाध्यक्षको रुपमा पुनः सेवा गर्ने अवसर पाएको छु । विद्यालयका भवनहरु नयाँ बनेका छन् । त्यसपछि अरुणोदय उच्च माविमा रेक्टोफिटीङको काम भएको छ । विद्यार्थीहरु गत सालसम्म निकै कम थिए । अहिले यस उच्च माविमा विद्यार्थीहरु निकै छन् । अरु गुठी र नीजि विद्यालयहरु भए । ५ नम्बर वडामा सरकारी स्कूल एउटा मात्रै छ । अरु प्राइभेट स्कुलमा म सदस्य पनि भएकोले मिटिङहरुमा जाने गरेको छु ।

गत सालसम्म ६ कक्षा सम्मकोलाई खाजा दिइन्थ्यो भने यो वर्षदेखि ७ कक्षालाई पनि खाजा दिने भएको छ । नगरपालिकाबाट खाजाको व्यवस्था छ । कसैको यदि ड्रेस छैन भने हामी त्यसको पनि व्यवस्था गरिदिन्छौ । जुत्ता छैन भने जुत्ता पनि किनिदिन्छौ । सके आफै दिन्छौ नसके अरुबाट मागिदिन्छौ । त्यसैगरी २ वर्ष पढाएर एसइइ दिने काम पनि भैराखेको छ । मानिसहरुका अनुसार पनि अरुणोदय माविमा विद्यार्थी पनि बढेका छन् भन्ने सुन्नमा आएको छ । पोहोरभन्दा धेरै कुरामा सुधार आएको छ । व्यवस्थापनको अध्यक्ष पनि मलाई नै बनाए । यहाँ गुम्बाहरु पनि धेरै छन् । त्यसैगरी पहिला हेडसर अर्कै हुनुहुन्थ्यो, अहिले हेडसर पनि फेरिनुभयो । उमेरको हदको कारणले उहाँले छोडेर अर्को आउनुभएको छ । मेरो सल्लाह र सुझाव के छ भने एउटै शिक्षक सँधै रहिरहन नहुने रहेछ । बेला बेलामा परिवर्तन हुनुपर्दो रहेछ । विद्यार्थी र अभिभावकलाई जहिले पनि त्यही मास्टर हो, के गर्दछ त्यसले भन्ने हुँदो रहेछ । अहिले जसरी राजनीतिमा वितृष्णा छाएको छ नि प्रधानमन्त्री को हुने भन्दा त्यही ओली, देउवा वा प्रचण्ड । त्यो भन्दा अरु त कोही छैन । उनीहरु २, ३ पटक भैसकेपछि जनताले नयाँ मानिस खोज्दछन् । शैक्षिक संस्थामा पनि त्यस्तै खालको हुँदो रहेछ । जेहोस् मेरो वडामा अहिले शैक्षिक क्षेत्रमा सुधार भएको छ । अहिले शिक्षामा धेरै पैसा लगानी गरेको छ, त्यसको सदुपयोग भएको छ ।

स्वास्थ्यः हाम्रो वडाको स्वास्थ्य पनि त्यस्तै छ किनकी हाम्रो अरुको भन्दा पुरानो ठाउँ हो । पहिला नेपाल सरकारले गाउँपालिका पिच्छे स्वास्थ्य चौकी दिएको थियो । हामीकहाँ धेरै पहिला लगभग २४, २५ सालदेखि यहाँ स्वास्थ्य चौकी भएको नाताले र हाम्रोमा नेपाल सरकारले वडा पिच्छे स्वास्थ्य चौकी राखिदियो । अन्त भन्दा हाम्रोमा स्वास्थ्य सुविधा राम्रो छ । कर्मचारीहरु र चिकित्सकहरु साढे ९ बजेदेखि अफिस आएर पाँच बजेसम्म अफिसमा बस्दछन् । म आफू निर्वाचन भएर आएको ६ वर्ष भयो । एकदिन पनि स्वास्थ्य चौकीको बारेमा मैले स्वास्थ्यकर्मीले समयमा जाँचेन, हामीलाई हप्कायो आदि इत्यादि कुरा सुन्नुपरेको छैन ।
हप्ताको एकपटक हामी वृद्धहरुको घरघरमा जान्छौं । कोभिडदेखि नै हामीले घर घर जाने र हेर्ने भनेर कार्यक्रम राखेका थियौं । हाम्रोमा हेल्थ असिस्टेन्टले हेर्नुहुन्छ र उहाँलाई आवश्यक प-यो भने डाक्टरसँग सल्लाह गर्नुहुन्छ । अहिले हामीकहाँ बर्थ सेन्टर छ र त्यसमा पनि काम भैरहेको छ । हामीकहाँ स्टाफहरु पर्याप्त नै छन् । मेरो वडाको स्वास्थ्य चौकी अरु ९ वटा वडाको तुलनामा राम्रो छ ।

कृषिः वडा नं. ५ मा कोरानी फाँट भन्ने छ । यसमा सिचाई विभागले यो साल र गत साल पनि सिचाईको लागि सिमेन्टको कुलो बनाइदिएको छ । केही गर्छु भन्ने मानिसहरुको लागि कृषिको लागि कुलोहरु निर्माण भएर मोटर जाने बाटो पनि बनाइदिएर जनताको लागि खुशी र आभारी हुने काम पनि भएको छ । त्यसले गर्दा १२ महिना नै पानी जान्छ । त्यसैले अरु वडा भन्दा गर्ने मानिसहरुको लागि अवसर छ । अरु वडाको तुलनामा कृषिको अवस्था राम्रो छ ।

पर्यटनः नगरपालिकामै माताको मन्दिर अवस्थित छ । हामीले पर्यटनलाई टेवा दिनको लागि पर्यटन रोड भनेर सिढीहरु बनाउने काम गरेका छौं । दक्षिणकाली नगरपालिकाको सबैभन्दा बढी मठ मन्दिर र गुम्बा भएको वडा पनि यही हो । यहाँ पद्मसम्भवको तपस्या गरेको ठाउँ, पद्मसम्भवको पैताला भएको ठाउँ, त्यसपछि बाल्मीकी र चम्पादेवी भएको ठाउँ, त्यस्तै गोपालेश्वर महादेव पनि यही वडामा पर्दछ । हाम्रो क्षेत्र सम्बन्धी समितिबाट पुरातत्व विभागबाट पुरानो पाटीलाई नयाँ बनाउने काम भएको छ । पहिला १ करोडको काम भएको थियो भने अब अर्को करोड दिएर काम अगाडि बढाउनुस् भनिराखेका छन् । चन्द्र शमशेरको पालामा एशियाकै दोश्रो जलविद्युत योजना पनि यहीं बनेको हो जुन दक्षिणकाली नगरपालिकाको ३ नं. वडामा पर्दछ । धार्मिक हिसाबले, पुरातत्व हिसाबले र पर्यटनको हिसाबले यो अगाडि छ । यहाँबाट धेरै पैदल यात्रुहरु हिंडेर हात्तीवन रिसोर्ट, चम्पादेवी, प्राचीन दक्षिणकाली हुँदै बज्रयोगिनी र गोरखनाथ पुग्दछन् । यहाँ मठमन्दिरहरु प्रशस्त छन् । यहाँ पर्यटकहरुलाई दिनभरि घुमेर आराम गर्ने ठाउँ पनि बनाइराखेका छन् । पर्यटकको आगमन पनि विगतको भन्दा राम्रो हुँदै गएको छ । नेपाल सरकारले लगानी पनि गरेको छ । महानगरले पनि पैसा दिएर हिंड्न लायकको सिंढी बनाइदिएर मानिसहरुलाई हिंड्न सजिलो बनाइदिएको छ । मैले शेषनारायण मन्दिरबाट पनि दक्षिणकाली जानलाई सिंढी बनाउनको लागि व्यवस्थापन गरेको छु । यो पनि यो सालमै पुरा हुन्छ । पर्यटनको सम्भावना प्रशस्त छ । विदेशी पर्यटकहरु धेरै आइरहेका छन् । हाम्रो वडामा विदेशी बढी छन् । स्वदेशी एकादशी लगायतका चाडपर्वमा आउने हो भने अरु बेला विदेशी इण्डिन, रसियन, अफ्रिकन मुलुक बाहेक गोरा जातिहरु आउँछन् ।

सडकः भर्खर म, मेयरसाप, सडकको डीजी नारायण निहुरे भेट भएका थियौं । हामीले उहाँलाई घच्घच्यायौं । उहाँले गतसाल किर्तिपुर नगरपालिकासम्म पीच गरिदिनुभयो । यसपाला १० करोड रुपैयाँ हालेर हाम्रो स्तरोन्नति सँगसँगै पीच हुँदैछ । सम्भवत यो जेठ महिना भरिमा पीच सकिन्छ । अब काठमाडौंबाट दक्षिणकाली आउँदा सरर आउन पाइन्छ । यसमा कसैले अवरोध ग-यो भने यो के हो कसो हो भनेर सहजीकरण गर्ने काम गरेका छौं । एउटा मरासैनी थरको ठेकेदार आउनुभएको छ र सडक विभागको अर्जुन नेपाली भन्ने इञ्जिनीयर साप हुनुहुन्छ । उहाँ पनि दैनिक आइरहनुभएको छ । त्यस्तै शेषकान्तमा बांगोटिंगो बाटो थियो, त्यहाँ रुख काटेर वनका मानिसहरु राखेर सहमति गराएर कामहरु गरेको छु । अब यो महिनाभरिमा दक्षिणकाली आउने बाटो सजिलोसँग आउने वातावरण बन्छ ।

हाम्रो प्रयास भनेको पर्यटकहरु जुन मनोकांक्षा बोेकेर आएका हन्छन् त्यो अनुसारको वातावरण बनाउने होः वडाध्यक्ष शैलेशमान मानन्धर, वडा नं. ६

शिक्षाः स्थानीय निर्वाचन पछि सम्पूर्ण नगरमा नै शिक्षाको विकासको लागि नीतिहरु लिइएको छ । यसै गरि हरेक वडाहरुमा गुणस्तरीय शिक्षाको लागि विद्यालयलाई पक्की भवन र सुविधा सम्पन्न भवनको निर्माण गरिएको छ । त्यसै गरि शिक्षा विकासका लागि वडामा रहेका विद्यार्थीहरुलाई अनिवार्य स्कुल जान पर्ने बनाएका छौँ । सामुदायिक विद्यालयमा बजेट विनियोजन गरेर विद्यार्थीलाई खाजा तथा शैक्षिक सामाग्री उपलब्ध गराएका छौँ । अझै गुणस्तरीय शिक्षाको लागि विद्यालयका वडाबाट अनुगमन टोलीहरु अनुगमनका लागि जाने गरेका छन् । यो वडा आफैमा शिक्षीत रहेको छ र विद्यालयमा व्यवहारिक र सांस्कृतिक शिक्षा प्रदान गर्न निर्देशन दिइरहेका छौं ।

स्वास्थ्यः अन्य वडाको तुलनामा यो वडा शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै राम्रो रहेको छ । विशेष गरि मनमोहन अस्पताल, निजी क्लिनीकहरु पनि रहेका छन् । दक्षिणकाली स्वास्थ्य चौकी पनि रहेको छ । स्वास्थ्य उपचारको लागि हामी २४ सै घण्टा तयारीमा छौँ । अझै राम्रो बनाउन स्वास्थ्य विमा पनि लागु गरिएको छ । ज्येष्ठ नागरिकका लागि महिनाको एकचोटि घर घरमै गएर स्वास्थ्य परिक्षण गराउने गरेका छौँ । बालबालिकाको लागि पनि नियमित खोपहरु स्वयंमसेविकाको माध्यमबाट प्रदान गर्ने गरेका छौँ । स्वयंमसेवकका लागि पनि बेला बेलामा वडाबाट तालिम दिने गरेका छौं ।

कृषिः दक्षिणकाली नगरपलिका भौगोलिक रुपमा ठूलो रहेको छ । यो नगरपालिका काठमाडौँदेखि मकवानपुर सम्म जोडिएको छ । हाम्रो वडा बजार क्षेत्र भएकाले कृषि योग्य जमीन फुल्चोक र कमल पोखरीमा रहेको छ । त्यहाँ अहिले पनि कृषिका कामहरु भइरहेका छन् । वडा स्तरीय रुपमा विभिन्न कार्यक्रमहरु जस्तै कृषकका लागि विउ वितरण, मल वितरण उपलब्ध गराएका छौँ । त्यसैगरी बेला बेलामा वडाले विभिन्न कृषि सम्बन्धी तालीम र शिक्षा प्रदान गर्दै आइरहेका छ । पशुपालनको लागि पनि नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क बिमा कार्यक्रमको आयोजना गर्ने गरेका छौँ । त्यसै गरि कृषकहरुलाई आवश्यकता अनुसार नयाँ प्रविधि जस्तै ट्रयाक्टर उपलब्ध गराउने, विभिन्न औजार प्रदान गर्ने गरिरहेका छौं । जग्गा वर्गीकरणमा हाम्रो वडाले जग्गा धनीलाई नै सम्र्पक गरेर वस्ती योग्य बनाएर दर्ता गर्दा के हुन्छ र कृषि योग्यमा दर्ता के फाइदा हुन्छ त्यो सबै जनतालाई सम्झाउने गरेका छौँ ।

पर्यटनः दक्षिणकाली नगरपालिका दक्षिणकाली माइकै नामबाट नामाकरण गरिएको छ । यो मन्दिर नेपालकै प्रमुख शक्ति पीठहरु मध्ये एउटा रहेको छ । बर्षेनी लाखौं भक्तजन यहाँ आउने गरेका छन् । गत बर्ष मात्रै दश लाख भक्तजनले पुजा गरेका थिए । यसै गरी यहाँ अन्य बौद्ध धर्म लगायतका मन्दिरहरु पनि रहेका छन् । हाम्रो प्रयास भनेको पर्यटकहरु जुन मनोकांक्षा बोेकेर आएका हन्छन् त्यो अनुसारको वातावरण बनाउने हो । त्यसका लागि यहाँ सरसफाइ देखि लिएर मन्दिर वरिपरिका बजार व्यवस्थापन गराएका छौँ ।

दक्षिणकाली मन्दिर यही वडामा पर्ने भएकाले त्यहाँको बस्ती, बाटो, सरसफाइ, बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिएको छ । यसैगरी फरक क्षमता भएका व्यक्तिका लागि पनि सहजै दर्शन गर्ने व्यवस्था गरिएको छ । महिलालाई स्तनपान गराउनका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । साथै भक्तजनका लागि स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ । भक्तजनले खाने खानामा पनि यहाँको मौलिकपन पाउने गरी बनाइने गरिएको छ ।

हिजो पराम्परागत ढङ्गले गरेको तरीकाले भन्दा पनि अब खेतीपाती आधुनिक ढङ्गले अगाडि बढनु पर्छ भनेर विभिन्न चरणमा हामीले ट्याक्टरहरु वितरण गरेका छौँः वडाध्यक्ष हरि प्रसाद तिमिल्सेना, वडा नं. ७

शिक्षाः हाम्रो वडा नं ७ मा प्रारम्भिक विद्यालय मात्रै छ । यो वडा गा.वि.स. लाई टुक्रयायर दुइटा पारिएको र भर्खरै तयार भएको वडा हो । त्यसैका कारण यस वडामा एउटा मात्रै प्रारम्भिक विद्यालय र विद्यार्थीलाई चाहिने सबै कुरा जस्तो खाना, बस्ने, लगाउन सित्तैमा गरेका छौँ । तर प्राय मानिसहरु प्राइभेट स्कुलको बानी परेको हुँदा उनीहरुलाई फर्काउने प्रयासमा छौं ।

स्वास्थ्यः यो वडा अन्य भन्दा कम जनसंख्या भएको वडामा पर्छ । भौगोलिक हिसाबले ठूलो तर जनसंख्यको हिसाबले सानो छ । त्यसकारण हामीले प्रत्येक महिनामा यहाँ रहेको सहरी स्वास्थ्य केन्द्रबाट महिनाको २ पटक ज्येष्ठ नागरिक, अपाङ्गलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौँ । विभिन्न चरणमा हामीले शिविरहरु आयोजना गरेका छौं । समग्र रुपमा नेपाल सरकारले वडालाई दिएको स्वास्थ्य सुविधा पूर्ण रुपमा दिएका छौँ ।

कृषिः यो विषय आफैमा महत्वपूर्ण छ । खानाका लागि काम गर्नु पर्छ भन्ने अवधारणा अघि सारेका छौँ । प्राय नेपालीका अधिकांश मानिसहरु कृषि पेशामाा आवद्ध छन् । करिब १० प्रतिशत नेपाली रोजगारीमा रहेका छन् भने बाँकी कृषिमै आबद्ध रहेका छन् । हाम्रो वडा काठमाडौंमै भए पनि त्यसमा पनि पिछडिएको वडा नं. ७ हो । यस वडामा कृषि योग्य जमीनहरु छन् । यसमा विभिन्न चरणमा विभिन्न व्यक्तिहरुको मिलेमतोमा प्लटिङ हुने गरेको छ । अब काठमाडौं भने पछि बाहिरका मानिसहरुले भिरपाखा नै भए पनि जमिन चाहन्छन् । यस्तो खालका प्रवृत्ति र हामीमा पनि काम नगर्ने बानी बसेको हुँदा कृषिमा अगाडि बढ्न सकेका छैनौ । हिजो पराम्परागत ढङ्गले गरेको तरीकाले भन्दा पनि अब खेतीपाती आधुनिक ढङ्गले अगाडि बढनु पर्छ भनेर विभिन्न चरणमा हामीले ट्याक्टरहरु वितरण गरेका छौँ र अन्य सुविधाहरु दिनु हाम्रो नीति तथा कार्यक्रममा रहेको छ ।

यस वडामा कृषिका लागि भूगोल छ र हामीले आधुनिकीकरणका लागि धेरैभन्दा धेरै ट्याक्टरहरु वितरण गरेका छौँ । हाम्रो वडामा ५०० भन्दा बढी टडेलाहरु रहेका छन् । प्रत्येक घरलाई १० देखि १५ प्रतिशत लिएर टडेल प्लास्टिकहरु उपलब्ध गराएका छौँ । कृषिको मनोबल बढाउन कृषि अनुदान गर्ने गरेका छौँ तर मल हाम्रो नियन्त्रणमा छैन र ल्याउन पनि सक्दैनौँ र यसैका कारणले कृषक अत्यन्तै निराशमा छन् । हामीले सकेसम्म सहुलियत मूल्यमा मल वितरण गर्ने कोसिश गरेका छौँ । यसरी हामी जनप्रतिनीधिहरुसँग मिलेर वडा र नगरले आ–आफ्नो ठाउँबाट सक्ने काम मिलेर अगाडि बढेका छौं ।

हामीले बाँझो कर भन्ने लगाएका छौँ जसमा जसले खेती बाँझो छोडेको हुन्छ त्यसले ३०० रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छः वडाध्यक्ष याेशकुमार लामा, वडा नं. ८

शिक्षाः यो वडामा एउटा आधारभूत, दुइटा मावि र एउट बोर्डिंग गरेर चारवटा स्कुलहरु रहेका छन् । म निर्वाचित भए पछि यी विद्यालयको विकासको लागि खटिएका छौं । यहाँका ९० प्रतिशत विद्यार्थी स्कुल जान्छन् भने बाँकीका लागि शिक्षकहरुलाई गाउँ गाउँमा पठाउने, त्यहाँका बच्चाहरुलाई पढ्न प्रोत्साहन गर्ने गरेका छौं र नयाँ ढङगले बोर्डिंगमा जस्तो शिक्षा दिइन्छ त्यस्तै शिक्षा प्रदान गर्नको लागि अगाडि सरेका छौं ।

स्वास्थ्यः यो वडा अन्य वडाभन्दा ठूलो छ । एउटा स्वास्थ्य चौकी पहिलेदेखि नै थियो र हामी निर्वाचित भए पछि सहरी स्वास्थ्य केन्द्र बनाउने घोषण गरेका थियौँ र अहिले नौ महिना पछि स्वास्थ्य केन्द्र उद्घाटन भइ सञ्चालनमा आइसकेको छ । यसरी दुइटा स्वास्थ्य केन्द्र भए पछि हामीलाई सहज भएको छ । नौ वटा वडा मध्ये यस वडामा धेरै विद्यार्थीहरु रहेका छन् । बालबालिकाको लागि खोप, भिटामिनको व्यवस्था रहेको छ र यस वडाको ४ विभिन्न स्थानबाट खोप लगाउने र भिटामिन खुवाउने गरेका छौँ । ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य शिविर गराउने गरेका छौँ । हामीले वडाको विभिन्न स्कुल र स्थानमा स्वास्थ्य शिविर संचालन गरेका छौँ र अबको केही दिनमै सबैका लागि नाक, कान, घाँटीको उपचारको लागि स्वास्थ्य शिविर गर्न गईरहेका छौं ।

कृषिः हामी निर्वाचित हुने बित्तीकै नौ वटा ट्याक्टर वितरण गरेका थियौँ । अघिको साल मलको अभाव भएको थियो र यो साल हामीले तीन सहकारीबाट मल उठाएका ५० बोरा बितरण गरेका छौँ र अझै पुगेको छैन । मल प्राप्त हुने बित्तीकै नपुगेकालार्ई वितरण गर्नेछौँ । हामीले कृषि शिविर पनि राखेका थियौं जसमा चार सय भन्दा बढीलाई बिउबिजन निःशुल्क वितरण गराएका थियौं ।

म निर्वाचन हुनु अघि प्लटिङ गर्न थालिएकाहरु बाहेक अहिले त्यस्तो प्लटिङका काम भइरहेका छैन । अहिले जग्गा किनबेचको मन्दि चलेको छ । कृषि योग्य जमिन भित्रको भन्दा पनि वडा बाहिरका जनताले किनेर त्यतिकै जमिनहरु छोडेकालाई तपाईहरु कर पनि नतिर्ने कि त ती जमिन कृषिका लागि दिनुस नत्र कर तिर्ने बेला जग्गा धनी आफै आउने व्यवस्था गर्नुस् भनेका छौं । साथसाथै वडाको आफ्नै नीति नियम छ । हामीले बाँझो कर भन्ने लगाएका छौँ जसमा जसले खेती बाँझो छोडेको हुन्छ त्यसले ३०० रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।

हामीले विकासको काम लगभग निर्वाचित भए पछि विगतको पाँच बर्षमा नभएको काम भइसकेको छ । अहिलेको समयमा जेठ असारमा अन्तिम घडीमा बेस्सरी काम गर्ने र त्यस पछि के कति काम भयो भनेर त्यसको उपलब्धि देखिदैन थियो भने हामीले चैत्र मसान्त सम्ममा भएको सबै बजेट सकेर छिटफुट कतैबाट थपथाप गरेर जम्मा गरेको बजेटबाट कामहरु भइरहेका छन् । हाम्रो योजना अबको पाँच बर्ष भित्र यहाँ रहेको बस्ती, सडक, ढलान गरिसक्ने, प्रत्येक गोरेटो बाटोलाई हिलोमुक्त बनाउने र प्रत्येक जनताको घरमा एक घर एक धारा पु-याउने अवधारणा रहेको छ । यसरी हाम्रो कार्ययोजना अघि बढेको छ ।

पर्यटनः यस वडामा पर्यटकीय स्थलका रुपमा विभिन्न मन्दिरहरु रहेका छन् । यहाँ स्थानीय सरकारले गर्ने सक्ने साना बजेटको काम त गरेकै छ । त्यसैगरी अब प्रदेश सरकार र केन्द्र सरकारले केही दिनमै बजेट भाषण गर्दैछ । त्यसमा केही न केही समायोजन हुन्छ की भन्नेमा हामी ढुक्क छौँ । त्यसपछि यो प्रदेश सरकारलाई पर्यटन विकासको लागि चाहिने पूर्वाधारहरु पेश गरेका छौँ । पर्यटन प्रवद्र्धनको लागि योजनाहरु अघि बढीरहेका छन् ।

वृद्धवृद्धाको लागि स्वास्थ्य बीमा कार्यक्रम, अपांग भएका व्यक्तिहरुको लागि र दलित अल्पसंख्यक र पछाडि परेको व्यक्तिहरुको लागि निः शुल्क बिमाको व्यवस्था गरेको छः वडाध्यक्ष, अमृका बलामी, नगरपालिका को प्रवक्ता, वडा नं. ९

कृषिः यहाँ जम्मा ४००० जनसंख्या छ । यसमा ९० प्रतिशत जनता कृषिमा लागेका छन् । त्यसैगरी १०९२ को घरधुरी संख्या छ । ७४० वटा घरमा चुलो नै बालेर बसेका छन् । जग्गा बाँझो राख्न दिएको छैन । पानीको पर्याप्त व्यवस्था नभएको वडा भएको कारणले, ४ वटा खानेपानी समिति छन्, पानीलाई लिफ्टिङ गरेर एक घर एक धारा वितरण गरिएको छ । शुद्ध पानी र बाँकी रहेको पानीबाट तरकारी खेती गर्नु र वैशाखदेखि असोजसम्म ६ महिनासम्म वर्खे बाली र तरकारी खेतीबाट आएको आयबाट जनताको जीवनस्तर माथि लग्नको लागि प्रदेश, नगरपालिका, कृषि शाखा र वडाले आफ्नो कृषि र पशुपालनहरुमा विभिन्न कार्यक्रमहरु गरेको छ । गाई भैसी पाल्नेको संख्या ४० को हाराहारीमा छ भने ३००० वाख्राको तथ्याकं छ । पशु बिमा कार्यक्रम नगरपालिकाले निःशुल्क गरेको छ । नेपाल सरकारले ९० प्रतिशत अनुदान गरे पनि नगरपालिकाले बाँकी रकम राखिदिने हुनाले बिमाको शुल्क लाग्दैन ।

माटोको उपचार बिना फल राम्रो नलाग्ने हुनाले पशुपालन गरेर मलखादको व्यवस्थापन गर्ने कार्यमा लागेका छन् । बिमाबाट सहजै पैसा लिन सक्ने वातावरण सिर्जना गरेको छ । १५०० देखि १८०० फिट भुगोल भएको क्षेत्रमा १३–१४ डिग्रीदेखि २४–२५ डिग्रीसम्म तापक्रम भएको ठाउँमा खेतीको प्लास्टिक टनेलहरु, थोपा सिचाई, हाइटेक नर्सरी लगायत विभिन्न उपकरणले काम गरेको छ ।

वडा र नगरपालिकाले आयमा जोड दिएर कृषिबाट आय उत्पादन गर्ने र बोट विरुवाहरुलाई स्वस्थ राख्नको लागि कृषकहरुलाई विभिन्न विषादीहरुको विषयमा पनि ज्ञानगुनका कुराहरु राखेर काम गरेको छ । ५ वटा सहकारी छन् जसले किसानहरुले वचत गरेको पैसा राखिदिने काम गरेको छ । वचत ३ वटा मध्ये महिला सहकारी २ वटा छ भने अर्को चल्ती वचत सहकारी छ । समग्रमा ४२ वटा महिला समूह र ५ वटा युवा समूह छ । नगरपालिकाले जो जो काम गर्ने छन् काम गर्ने व्यक्तिहरुलाई उद्यमीको रुपमा विकास गरेर ९० प्रतिशत सम्म अनुदान दिएर पानीको पाइप, प्लास्टिकको सुतली, बाँस लगायत विभिन्न औजार सामाग्री दिएर बजारीकरणलाई सघाउ पु¥याएको छ भने दक्षिणकालीले अहिले हाट बजारको अवधारणा शुरुआत गरेको छ ।

त्यस्तै गरेर अलिकता चिस्यान केन्द्रको लागि निजी चिस्यान केन्द्र चाल्नाखेलमा छ । त्यसमा कृषकले उत्पादन गरेको तरकारीहरु राख्ने गरेका छन् । त्यसमा लाग्ने लागत नगरपालिकाले केही बेहोरिदिने कुरा भएको छ । अरु आय नभएको कारण त्यहाँका सम्पूर्ण जनताहरु कृषिमा आबद्ध हुने र भूगोलको हिसाबले माटो मलिलो भएको कारणले ठाउँ मात्र मलिलो होइन कि मिहीनेतीको गाउँ भएको कारणले सबैको आयमा जोड गरेर जग्गा बाँझो राख्न नदिने, ठाउँ अनुसारको तरकारी खेती गरेर थोरै होइन कि व्यवसायिक हिसाबले काम गर्ने तरिकाले हामी त्यसमा लागिराखेका छौं ।

शिक्षाः वडामा मन्टेश्वरी शिक्षाको विकास भएको छ । आइसीटी ल्याबको अवधारणा विकास भएको छ । यहाँ जम्मा ४ वटा विद्यालयहरु छन् । जम्मा ६ वटा विद्यालयमा एउटा गुम्बा विद्यालय छ । एउटा डल्फिङ म्याजिक विद्यालय छ त्यहाँ शुल्क लाग्दैन । अलि आर्थिक रुपमा विपन्न भएकोले वडाको सिफारिसमा २० जनाले निःशुल्क पठनपाठन गर्न पाइन्छ । त्यसैगरी सामुदायिक विद्यालय ४ वटा छ । त्यसैगरी कालीदेवी आधारभूत विद्यालयमा विद्यार्थीको संख्या बढेकोले ९ र १० कक्षा थप भएको छ । इन्द्रायणी आधारभूत विद्यालयमा पनि सुधारोन्मुख छ । सेतीदेवी माध्यमिक विद्यालयमा पनि सुधार नै छ । अनि आइसीटी र सामुदायिक विद्यालयहरुमा गुणस्तरिय शिक्षाको विषयमा अलि नयाँ तरिकाले पठनपाठन शुरु भएको छ । आयसँग जोडिएको शिक्षा संचालन गर्नुपर्दछ भनेर अगाडि बढेको छ । नगरपालिकाको पनि यसमा पूर्ण साथ र सहयोग मिलेको छ ।

स्वास्थ्य स्थितिः नेपाल सरकारले निशुल्क रुपमा वितरण गरेको औषधि र सेवा र सुविधा छँदैछ । नगरपालिकाले वृद्धवृद्धाको लागि स्वास्थ्य परिक्षणको अवधारणा अगाडि सारेको छ । वृद्धवृद्धाको लागि स्वास्थ्य बीमा कार्यक्रम, अपांग भएका व्यक्तिहरुको लागि र दलित अल्पसंख्यक र पछाडि परेको व्यक्तिहरुको लागि निः शुल्क बिमाको व्यवस्था गरेको छ । अरुहरु ४ जना सम्मको घर परिवारको लागि रु. २५००, ६ जनाको लागि रु. ३५०० दिएर बिमाको कार्यक्रम संचालन गरेको छ । नगरपालिकाले प्रति घर परिवार रु. १००० सहयोग स्वरुप दिंदै आएको छ । बीमा गरेको व्यक्तिहरुलाई जस्तै सुगर, प्रेसर, दम र अन्य रोगहरुको लागि नियमित औषधि सेवन गर्नको लागि सहायता प्रदान गरेको छ । चाल्नाखेल ल्याबबाट सम्पूर्ण ल्याब सुविधा निशुल्क छ । नगरपालिकाबाट अति विपन्न, वृद्ध, बालबालिका र अल्पसंख्यकहरुको लागि शुल्क नलाग्ने र अरुहरुको लागि न्यूनतम शुल्क लिएर एम्बुलेन्सको सेवा सुविधा पनि छ । त्यसैगरी महिलाहरुको स्वास्थ्य परिक्षण, आँखा शिविर, बाल रोग, चर्म रोग, झाडा पखालाको सिजनमा समय अनुकूल स्वास्थ्य शिविर संचालन गरेर वडाले पनि स्वास्थ्य क्षेत्रमा केही न केही बजेटको व्यवस्था गरेको छ । स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर बजेटहरु तय गरेको छ । स्वयमसेविकाहरुलाई नियमित बैठक, घुम्ती शिविर, खोप केन्द्रहरुको स्थापना, जनचेतनाको माध्यमबाट हाम्रो वडामा भएका १३, १४ जना स्वयमसेविकाहरुलाई स्वास्थ्य समितिले महिनाको १ पटक बैठक बसेर विभिन्न समयअनुसारको जनचेतनामूलक कार्यक्रमहरु गर्ने कार्यहरु गर्दै आएको छ ।

कृषि शाखाको वार्षिक प्रगति विवरण

दक्षिणकाली नगरपालिकाको कृषि शाखाका शाखा प्रमुख पविता राईसँग मातृभूमिन्युजका संवाददाताले गत आर्थिक वर्षमा कृषि क्षेत्रमा भएको प्रगतिको बारेमा कुराकानी गरेका थिए । राईका अनुसार दक्षिणकाली नगरपालिकामा हालसम्म ३० वटा कृषक समूहहरु दर्ता भएको छ । साथै आ.व.०७९/०८० मा संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत १२ लाख विनियोजित वजेटको ५०% लागत सहभागिता हुने गरी छनोट भएका फर्म सानीमहल एग्रो एण्ड रिसर्च सेन्टर प्रा.लि. द.न.पा–९ र हाम्रो अर्गानिक कृषि फर्म द.न.पा ३ ले च्याउ पकेट कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रम सम्पन्न पश्चात नगर प्रमुख, उप–प्रमुख, आर्थिक विकासको समिति, वडाको जन प्रतिनिधि, कर्मचारीहरुको सहभागितामा सावर्जनिक सुनुवाई पनि सम्पन्न भएको थियो ।

आ.व. ०७९/०८० संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत १२ लाख विनियोजित वजेटको ५०% लागत सहभागिता हुने गरी तरकारी बाली विकास पकेट कार्यक्रम छनोट भएका युटिकी सृजनशील कृषक समूह द.न.पा–७, श्री सेतीदेवी कृषक समूह द.न.पा.–३ को कार्य सम्पन्न गरी सावर्जनिक सुनुवाई गरि सकेको र चम्पादेवी बाख्रा फर्म तरकारी खेती द.पा.पा–५ को कार्य सम्पन्न गरी भुक्तानी भई सकेको अवस्था छ ।

त्यसैगरी आ.व. ०७९/०८० संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत ६ लाख विनियोजित बजेटको ५०% लागत सहभागिता हुने गत आ.व.२०७८/०७९ मा संचालित चन्द्र ज्योती कृषि तथा गाई फर्म द.न.पा.–२ लाई निरन्तरता तरकारी पकेट कार्यक्रम संचालनका लागि आर्थिक विकास समितिले सिफारिसि गरी कार्यक्रम सम्पन्न भएको छ ।

आ.व.०७९/०८० प्रदेश सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत १० लाख विनियोजित वजेटको ५०% लागत सहभागिता हुने कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम वडा नं. ८ को कार्यक्रम संचालनका लागि आर्थिक विकासको समितिले सिफारिस गरि कृषक समूह र फर्महरुलाई छनोट गरी कार्यक्रम सम्पन्न भई भुक्तानी भएको छ ।

साथै आ.व. ०७९/०८० प्रदेश सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत १० लाख विनियोजित वजेटको ५०% लागत सहभागिता हुने तरकारी खेती कार्यक्रम वेमौसमी वडा नं.९ को कार्यक्रम संचालनका लागि आर्थिक विकास समितीले सिफारिस गरि कृषक समूह र फर्महरुलाई छनोट गरी कार्यक्रम सम्पन्न गरी भुक्तानी भएको छ ।

आ.व. ०७९/०८० संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत ५ लाख २० हजार विनियोजित बजेट मध्ये रु.३,२५०००। (तीन लाख पच्चीस हजार) बराबरको फलफुल दशक अन्तर्गत फलफुल बृक्षारोपण प्राचिन दक्षिणकाली मन्दिर परिसरमा ठाउँ छनोट गरी लागत ईष्टिमेट तयार गरी कार्यक्रम संचालन गरिएको छ ।

आ.व.२०७९/०८० को नगरस्तरीय बार्षिक स्वीकृत कार्यक्रम कार्यक्रम अन्तर्गत ३ लाख विनियोजित वजेटको नगरस्तरीय वागवानी विकास कार्यक्रम अन्तर्गत वडा नं.८ र ९ का १४७ जना कृषकहरुलाई बगैचा व्यवस्थापन सम्बन्धी तालिम दिएको छ ।

आ.व.२०७९/०८० को नगरस्तरीय बार्षिक स्वीकृत कार्यक्रम शिर्षक माटो सुधार कार्यक्रम (माटो जाँच र कृषि चुन वितरण) अन्तर्गत ४ लाख विनियोजित वजेटको वडा नं.१ देखी ९ सम्मकाका ७९ जना कृषकहरुलाई माटोको नमूना संकलन सम्बन्धी तालिम दिएको छ ।

साथै आ.व.२०७९/०८० को नगरस्तरीय बार्षिक स्वीकृत कार्यक्रम शिर्षक नगरस्तरीय फलफूल नर्सरी निर्माण साझेदारी कार्यक्रम अन्तर्गत ४ लाख विनियोजित बजेटको फलफुल नर्सरी निर्माणका लागि छनोट भएको छैमले कृषि फर्म द.न.पा.८ ले कार्यक्रम सम्पन्न गरी भुक्तानी लिई सकेको र कृयाशील साना किसान कृषि सहकारी संस्था द.न.पा ९ मा कार्यक्रम संचालनका प्रक्रियामा गएको छ ।

आ.व.२०७९/०८० को नगरस्तरीय बार्षिक स्वीकृत कार्यक्रम कार्यक्रम अन्तर्गत वडा नं.१ देखी ९ सम्मकाका कृषकहहरुको ३५० माटोको नमूना संकन भएको र माटो तथा मल परिक्षण प्रगोगशाला हेटौडाको प्राविधिक सहयोगमा मिति २०७९/०९/२८ गते माटो परिक्षण शुरु गरेको माटोको रिपोर्ट अनुसार ३०,००० के.जि कृषि चुन निशुल्क वितरण गरेको । साथै ५० जना पशुपालक कृषकहरुलाई भकारो सुधार तथा जैविक विषादी वनाउनका लागि प्रति कृषक १५ हजारका दरले नगरपालिककाको पहलमा माटो तथा मल परिक्षण प्रगोगशाला हेटौडाको आर्थिक सहयोग उपलब्ध गराउने गरी काम शुरु भएको छ ।

आ.व.२०७९/०८० को नगरस्तरीय बार्षिक स्वीकृत कार्यक्रम २ लाख विनियोजित वजेटको वडा नं.१ देखी ९ सम्मकाका कृषक समूहहरुका सदस्यहरुलाई हिँदे तरकारीको विउ मिनिकिट ६६० प्याकेट निः शुल्क वितरण गरेको छ ।

आ.व.२०७९/०८० को नगरस्तरीय बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत २ लाख विनियोजित वजेटको वडा नं.१ देखी ९ सम्मकाका कृषक समूहहरुका सदस्यहरुलाई हिँदे तरकारीको विउ मिनिकिट ६६० प्याकेट निः शुल्क वितरण गरेको छ ।

मिति २०७९/११/३० गते द.न.पा.–८ मा एकिकृत घुम्ती शिविर संचालन गरी तरकारी विउ मिनिकिट (काक्रा, फर्सि, बोडी, करेला, घिउ सिमी र भिन्डी) ४२५ जना कृषकहरुलाई वितरण गरी तरकारी खेती लगाउने तरीका सम्बन्धी परामर्श दिएको छ ।

कृषि तथा पशु पन्छी विमाका लागि शिखर ईन्सुरेन्स कम्पनी सँग सम्झौता गरी कृषकको घर दैलोमा गई विमा शुरु भएको छ । कृषकहरुको सहजताका लागि कृषि तथा पशुपन्छी व्यवसाय गर्न व्याजमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी कार्यक्रम संचालन प्रकृयामा गएको छ ।

आ.व.२०७९÷०८० संघीय सरकारबाट हस्तन्तरीत किसान शूचिकरण तथा कृषि, पशुपन्छी तथा मत्स्य तथ्याङ्क अध्यावधिक कार्यक्रम संचालन गरी करिब ६०० घर धुरी किसानको विवरण सफ्टवेयरमा प्रविष्ट गरि सकेको छ ।

पशु सेवा शाखाको वार्षिक प्रगति विवरण (०७९/८०)

दक्षिणकाली नगरपालिकाको पशु सेवा शाखाको शाखा अधिकृत श्रीलेश महर्जनसँग मातृभूमिन्युजका सम्वाददाताले नगरमा भएको पशुपालनको अवस्था, नगरपालिकाले यहाँका जनतालाई दिएको सुविधा तथा सहयोग र नगरमा रहेका भुस्याहा कुकुरहरुलाई व्यवस्थापन गर्न बन्ध्याकरण गर्ने देखि लिएर पशु बिमाको बारेमा कुराकानी गरेका थिए । सोही कुराकानीको आधारमा यो प्रगति विवरण तयार गरिएको छ । यो प्रगति विवरण २०७९ देखि ८० को जेठ १५ सम्ममा आधारित छ ।
प्रयोगशाला व्यवस्थापन तथा औषधि खरिद कार्यक्रम अन्तरगत ४ लाख विनियोजित बजेटले औषधि खरिद गरि वडा नं १ देखि ९ सम्मका किसानहरुलाई निःशुल्क औषधि वितरण र प्राविधिक परामर्श सहित घर गोठमा नै पुगि औषधि उपचार गरिएको थियो । त्यसैगरी नगर क्षेत्रमा भएका सामुदायिक कुकुर नियन्त्रण गर्न वन्ध्याकरण शिविर संघीय सरकारबाट २ लाख र नगरपालिकाबाट २ लाख विनियोजित बजेटले २०२ कुकुरमा वन्ध्याकरण र रेविज खोप कार्यक्रम शिविर संचालन गरिएको थियो ।

पशु सेवा शाखाको पहुँचबाट टाढा भएको द.न.पा ८ मा पशु स्वास्थ्य शिविर कार्यक्रम संचालन गरि आवश्यक परामर्श दिईएको थियो । दक्षिणकाली नगरपालिका वडा नं १ देखि ९ सम्म पशु विमा कार्यक्रम अन्तरगत ४ लाख विनियोजित बजेटले पशुपंक्षि विमा सम्बन्धि अभिमुखिकरण तालिम संचालन गरि पशु पन्छी विमाका लागि शिखर ईन्सुरेन्स कम्पनी सँग सम्झौता गरी कृषकको घर दैलोमा गई विमा शुरु भएको थियो ।

त्यसैगरी कृषकहरुलाई पशुपंक्षि पालन सम्बन्धी जानकारी गराउन आवश्यक कार्यक्रम अन्तरगत २ लाख विनियोजित बजेटले बाख्रा पालन सम्बन्धी ३१ जनालाई ३ दिने तालिम र गाई भैसी सम्बन्धि ३० जनालाई ३ दिने तालिम संचालन गरिएको थियो ।

सुख्खा समयमा हुने घाँसको कमीलाई पुर्ति गर्न हिउँदे र बहु बर्षे वितरण कार्यक्रम अन्तरगत २ लाख विनियोजित बजेटले २००० केजी जै घाँसको बिउ खरिद गरि ७२ जना कृषकलाई निःशुल्क वितरण गरिएको थियो ।

आ.व. ०७९/०८० संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत १० लाख विनियोजित वजेटको ५०% लागत सहभागिता हुने गरी खुवा प्रवद्र्धन कार्यक्रममा छनोट भएका खुवा व्यावसायि द.न.पा–ट श्री गोकर्ण बास्तोला, द.न.पा.–८, श्री आत्मराम आचार्य र द.न.पा– ५ श्री सुदिप मान बस्नेतले ९०% कार्य सम्पन्न गरि सकेको र उक्त कार्यक्रम सम्पन्न गरि सके पछि अनुगमन गरि भुक्तानि गरिने छ ।

साथै आ.व. ०७९/०८० संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत २९ लाख ७० हजार रुपैया विनियोजित वजेटको ५०% लागत सहभागिता हुने गरी मिट मार्ट कार्यक्रममा छनोट हुनु भएका दक्षिणकाली पशुपालक तथा कृषि सप्लायस प्रा.लि का प्रो.शिव राज खनाल ले ९०%कार्य सम्पन्न गरि सकेको र उक्त कार्यक्रम सम्पन्न गरि सके पछि अनुगमन गरि भुक्तानि गरिने छ ।

आ.व. ०७९/०८० संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत २० हजार विनियोजित वजेटको ईपिडेमियोलोजिकल रिपोर्टिङ्ग कार्यक्रम अन्तर्गत मासिक ईपिडेमियोलोजिकल रिपोर्ट तयार गरी भेटेरिनरी ईपिडेमियोलोजि शाखामा पठाईएको थियो ।

आ.व. ०७९/०८० संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत २ लाख विनियोजित वजेटले कृत्रिम गर्भधानका लागि आवश्यक नाईट्रोजन र आवश्यक सामान खरिद गरि कृत्रिम गर्भधान भईरहेको छ ।

दक्षिणकाली नगरपालिका वडा नं १ देखि ९ सम्म पशुहरुमा डेर्चिङ्क कार्यक्रम अन्तर्गत १ लाख विनियोजित वजेट ले औषधि खरिद गरि कार्यक्रम संचालन गरिएको थियो ।

आ.व. ०७९/०८० संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम अन्तर्गत पशुपंक्षिहरुमा रोग निदानको लागि नमुना संकलन गरि केन्द्रिय पशुपंक्षि रोग अन्वेषण प्रयोगशालामा पठाईयो ।

शिक्षा शाखाको वार्षिक प्रगति विवरण (०७९/८०)

दक्षिणकाली नगरपालिकाको शिक्षा शाखाको शाखा अधिकृत जनार्दन रिजालसँग मातृभूमिन्युजका सम्वाददाताले नगरमा भएको समग्रमा शिक्षा सम्बन्धी प्रगति बारेमा कुराकानी गर्दा उनले नगरमा भएको शिक्षाको विविध पहलुमाथि प्रकाश पारेका थिए । सोही कुराकानीको आधारमा यो प्रगति विवरण तयार गरिएको छ । यो प्रगति विवरण २०७९ देखि ८० को जेठ १५ सम्ममा आधारित छ ।

गत आर्थिक वर्षमा नगरमा सबैका लागि आधारभूत शिक्षामा कुल रु. ९१५५०००० विनियोजित गरिएको थियो । त्यसमध्ये जम्मा रु. ८२३००००० खर्च भएको थियो । त्यसैगरी माध्यमिक तहका शिक्षक तलब भत्तामा कुल रु. ३३४००००० विनियोजित गरिएकोमा रु. २७८३६००० खर्च भएको थियो । त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कुल रु. ३३५००००० विनियोजन गरिएकोमा सत्प्रतिशत खर्च भएको थियो ।

त्यस्तै बजेट उपशिर्षक अनुसार कार्यक्रमगत वार्षिक प्रगतिको बारेमा बताउँदै उनले भने, “आधारभूत तहका स्वीकृत दरबन्दीका शिक्षक, राहत अनुदान शिक्षकका लागि तलब भत्ता अनुदानमा स्वीकृत वार्षिक बजेट रु. ६५८००००० रहेको थियो ।” त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ताहरुको कर्मचारी व्यवस्थापन अनुदानमा स्वीकृत वार्षिक बजेट रु. ६४५७००० रहेको थियो । साथै सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि निःशुल्क पाठ्यपुस्तक अनुदानमा रु. २८३३००० रकम स्वीकृत वार्षिक बजेट थियो । शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम (जसमा परम्परागत विद्यालय, वैकल्पिक विद्यालय, साक्षरता र निरन्तर शिक्षाको कार्यक्रम पर्दछ) का लागि वार्षिक रु. ३२२६००० रकमको बजेट स्वीकृत भएको थियो । साथै नगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरलाई निःशुल्क स्यानिटरी प्याड व्यवस्थापन गरेर उल्लेखनिय कार्य गरेको थियो ।

नगरको विभिन्न विद्यालयमा विभिन्न आयोजनाको शिर्षक अन्तर्गत निश्चित रकम विनियोजन गरि केही रकम खर्च भएको थियो जसमा कुल खर्च भएको रकम रु. ५४६८६४०३६ रहेको थियो ।

स्वास्थ्य शाखाको वार्षिक प्रगति विवरण (०७९/८०)

दक्षिणकाली नगरपालिकाको स्वास्थ्य शाखाको शाखा प्रमुख महेश कुमार उपाध्यायसँग मातृभूमिन्युजका सम्वाददाताले नगरमा भएको स्वास्थ्य क्षेत्रमा भएको क्रियाकलाप तथा प्रगति माथि कुराकानी गर्दा उनले नगरमा भएको स्वास्थ्य क्षेत्रको विविध पहलुमाथि प्रकाश पारेका थिए । सोही कुराकानीको आधारमा यो प्रगति विवरण तयार गरिएको छ । यो प्रगति विवरण २०७९ देखि ८० को जेठ १५ सम्ममा आधारित छ ।

यस आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रम चलाइएको थियो जसमा आ.व.मा नगरपालिका भित्रका सबै घर परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गरि स्वास्थ्य सेवाको सुनिश्चितता गरिने लक्ष्य राखिएको थियो । यस आ.व. को पौष मसान्त सम्ममाा १५१९ घरधुरीका कुल ७४६६ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका थिए । यस कार्यक्रममा सबै घरधुरीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता हुन लाग्ने योगदान रकममध्ये रु. १००० नगरपालिकाले व्यहोर्ने सम्झौता भएको थियो । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रको क्षमता विस्तार र प्रयोगशाला सेवामा विस्तार गरिएको थियो ।

त्यस्तै जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तता भउका नागरिकहरुलाई स्वास्थ्यकर्मीहरुद्वारा घरमै गएर स्वास्थ्य प्रदान गर्ने लक्ष्य राखिएको थियो । यो लक्ष्य हासिल गर्न आवश्यक स्वास्थ्य सामाग्री तथा औषधि खरिद गरिएको थियो । साथै यस आ.व. मा नगरपालिकाभित्रका सबै वडाहरुमा मासिक रुपमा करिब १८०० जना नागरिकहरुलाई हरेक महिना निरन्तर रुपमा स्वास्थ्य परिक्षण र औषधि प्रदान गरिएको थियो ।

यसरी नै राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविका कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सबै वडामा कार्यरत ९३ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई मासिक रुपमा जनहि रु १००० का दरले यातायात खर्च भुक्तानी गरिएको थियो । त्यसरी नै महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई दिर्घ सेवा सम्मान वापत प्रदेश सरकारले प्रदान गर्ने जनहि रु २०,००० मा नगरपालिकावाट जनहि रु ८०,००० थप गरि १२ जना लाई सम्मान प्रदान गरिएको थियो ।

महिलाहरुको VIA स्क्रिनिङ कार्यक्रम अन्तर्गत महिलाहरुमा हुने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको जोखिम कम गर्ने लक्ष्य राखिएको थियो । तदनुरुप विशेषज्ञ स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रम अन्तर्गत सुरक्षित मातृत्व तथा प्रजनन सेवालाई थप सुदृढ तथा प्रजनन सम्बन्धी रोगहरुको समयमै उचित व्यवस्थापन गरि महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो भयानक रोगबाट बचाउन नगरपालिका भित्रका ९ वटै वडाहरुमा Screening camp संचालन गरि जम्मा २४७ जनालाई सेवा प्रदान गरिएको थियो जसमा पोजिटिभ देखिएका १८ जना महिलाहरुलाई थप उपचारको लागि अस्पताल रेफर गरिएको थियो । साथै महिला स्वास्थ्य स्वयम् सेविका र आमा समूहलाई सो सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

त्यस्तै विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचार सहायता कार्यक्रम अन्तर्गत यस आ.व. मा ८७ जना बिरामीहरुलाई आर्थिक सहायता प्रदान गरिएको थियो ।

यसै सन्दर्भमा नगरप्रमुखसँग गरिएको नगरपालिकाको विकास निर्माण सम्बन्धी गरिएको कुराकानी यस्तो छ

प्रतिकृया