पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण
प्रकाशित मिति
२०८० जेष्ठ २२ गते, सोमबार १२:१८

२२ जेठ २०८०, काठमाडौँ: हिजाे मिति २०८०।०२।२१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा आइतवार पोखरामा सातौं र आठौं मिर्गौला प्रत्यारोपण गरिएको छ ।
मृगौला प्रत्यारोपण कार्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपण सर्जन डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा डा दिपेश श्रेष्ठ, डा हरि प्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी हुनुभएको थियो भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फवाट युरोलोजी तथा मृर्गौला प्रत्यारोपण टोलीमा शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाँई, डा सन्तोष श्रेष्ठ, डा डेभिड श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा रोहीनी सिग्देल, डा. माया लामा, डा पंकज बराल, डा हरि पौडेल, डा अनिल न्यौपाने, डा सतिस गुरुङ्ग, डा बिशाल गुरुङ्ग यसैगरी नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत के.सी, साथै ओ.टी इन्चार्ज कविता पौडेल सहितको टोली संलग्न रहनुभएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) का नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठका अनुसार तनहुँ दमैलीका २५ वर्षीया पुनम थापा मगरको आइतवार पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई उनका ४९ वर्षीय बुवा राजु थापा मगरले मिर्गौला दान गरेका हुन् । त्यस्तै पर्वत मोदी -४ का २७ वर्षीय गम बहादुर मगरको पनि आइतवरै मिर्गौला प्रत्यारोपण गरिएको छ । उनलाई उनका ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गरेका थिए । आइतवार प्रत्यारोपण गरिएका दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । प्रत्यारोपण भएका दुबै जनाको निजी र्खचमा उक्त प्रत्यारोपण भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल जनाएको छ ।
सरकारको मिर्गौला प्रत्यारोपणलाई देशव्यापी बनाउने अभियान अन्तर्गत पोखरामा मृगौला प्रत्यारोपणले तीव्रता लिएको छ भने प्रादेशिक अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवाको शुरुवात भइसकेको छ । क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।
राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा पोखरामा पहिलो पटक २०७९ असार ९ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि ८ वटा सफल प्रत्यारोपण भइसकेको छ ।
प्रतिकृया