‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त पछि एन.आर.एन हर्षविभोर
प्रकाशित मिति
२०८० जेष्ठ १७ गते, बुधबार ०५:१६

जेठ १७, २०८०, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा एन.आर.एन हर्षविभोर ।
नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम प्रमाणीकरण भएको यस नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको छ ।
सम्माननीय राष्ट्रपति ज्यूको यस कदमले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौं । साथै, विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौं । गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत यस कदमले ठोस् वातावरण तयार पार्ने विश्वास लिएका छौं ।
अन्त्यमा, यस ऐतिहासिक उपलब्धि हासिल गर्न मुख्य भूमिका निर्वाह गर्नुहुने नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री ज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, मन्त्रीज्यूहरु, सांसदज्यूहरु, नेपाल सरकारका मुख्य सचिवज्यू, सचिवज्यूहरु, सम्पूर्ण राजनीतिक दल लगायत कानूनविद्, सरोकारवाला, सञ्चारकर्मी एवं गैरआवासीय नेपाली संघका संस्थापकदेखि हालसम्मका पदाधिकारी तथा अभियन्ताहरु, नागरिकता निरन्तरता कार्यदलका प्रमुख तथा सदस्यहरु लगायत यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गर्दछौँ ।
प्रतिकृया