• 8:49 am

६० वर्षको उमेरमा आशिषले गरे दोस्रो विवाह

प्रकाशित मिति

२०८० जेष्ठ १२ गते, शुक्रबार ११:०२

१२ जेठ २०८०, एजेन्सी : भारतीय अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । उनले असमको राजधानी गुवाहाटी बस्दै आएकी फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग विवाह गरेका हुन् । अभिनेत्री शकुन्तला बरुआकी छोरी राजोशी बरुआ आशिष विद्यार्थीकी पहिलो पत्नी हुन् । आशिषले अदालतमा साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग विवाह गरे ।


टाइम्स अफ इन्डियासँग कुरा गर्दै आशिषले भने, ‘उमेरको यो चरणमा मैले रुपालीसँग विवाह गरेको छु र म निकै खुसी छु । हामीले आज बिहान अदालतमा विवाह गरेका छौं र बेलुका हामीले हाम्रा नजिकका र प्रियजनहरूका लागि भेटघाट समारोह आयोजना गरेका छौं ।’


सञ्चारमाध्यमसँग कुरा गर्दै रुपालीले भनिन्, ‘हामी केही दिनअघि मात्रै भेटेका थियौं तर पनि हामीले यो सम्बन्धमा विश्वास गरेका छौं र यसलाई अगाडि बढाउने सोचेका थियौं । हामी दुवैलाई अन्तरंग समारोहमा बिहे गर्ने मन थियो, त्यसैले अदालतमा बिहे गर्‍यौँ ।’


आशिष बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।


उनका सबैभन्दा लोकप्रिय फिल्ममा अ लभ स्टोरी, रात की सुबह नही, सरदार, भाई, जानवर, जीत, हैदर, गुडबायलगायत पर्छन् । उनले सन् १९९५ मा बनेको फिल्म ‘द्रोहकल’का लागि उत्कृष्ट सह–अभिनेताको विधामा राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।

प्रतिकृया