ढाकाकुमारको सांसद पद फर्काउने प्रयास विफल
प्रकाशित मिति
२०८० जेष्ठ ११ गते, बिहीबार ११:१२

११ जेठ २०८०, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद फर्काउने प्रयास विफल भएको छ । सर्वोच्च अदालतले श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश खारेज गरिदिएसँगै सांसद पद फर्काउने प्रयास विफल भएको हो ।
न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो। पार्टीले श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारवाही गरेको हो ।
श्रेष्ठ समानुपातिक सांसद थिए । सांसद पद गुमाएसँगै उनी सर्वोच्च पुगेका थिए । रास्वपाले श्रेष्ठको ठाउँमा एसिडपीडित बिन्दावासिनी कंसाकारलाई सांसद नियुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।
आयोगले कंसाकारलाई सांसद मनोनयन गरेपनि अल्पकालीन अन्तरिम आदेशका कारण उनको शपथ रोकिएकाे थियाे । सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै कंसाकारको शपथ ग्रहणको बाटो खुलेकाे छ ।
हेटौँडाकी विन्दबासिनी कंसाकार पेशाले बैंकर हुन्। कुमारी बैंकमा कार्यरत कंसाकार तेजाब आक्रमण पीडित पनि हुन् । विसं २०७० सालमा उनी प्लस टु पढ्दै गर्दा तेजाब आक्रमणमा परेकी थिइन् । भारतीय नागरिक कमलराज केंसारले तेजाब आक्रमण गरेका थिए ।
प्रतिकृया