आज भोटो देखाउने जात्रा
प्रकाशित मिति
२०८० जेष्ठ ११ गते, बिहीबार ०८:०२
११ जेठ २०८०, काठमाडौँ : आज रातो मच्छिन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटोजात्रा ललितपुरमा हुने जात्रा हो र यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जावलाखेलमा जम्मा हुने गर्द छन् । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ भने प्रत्येक बाह्रवर्षमा यहाँ पनि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिने गरीन्छ ।
यसअघि रथलाई पाटन शहरमा ल्याएर जात्रा गरेपछि पुनः बुङमतीमा जात्रा गरेपछि सम्पन्न गर्ने प्रचलन छ । मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले ‘यो भोटो कसको हो’ भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ ।
परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ । आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले व्यापक खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ । ती कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुग्दा दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोकारूपमा उक्त भोटो राखिएको बताइन्छ ।
उक्त विवादलाई राजासमक्ष पुर्याइएपछि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा राजा र प्रजासमक्ष सम्पन्न गरिँदै आएको छ । करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौँ, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपाल भित्र्याएको बताइन्छ ।
प्रतिकृया