• 7:18 am

भुटानी शरणार्थी प्रकरणको आरोपितसँग आइजीपी सम्पर्कमा रहेको भन्ने समाचार प्रहरी प्रधान कार्यालयद्वारा खण्डन

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार ०६:००

१० जेठ २०८०, काठमाडौँ: मिति जेठ ९ र १० गते विभिन्न समाचार माध्यममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हाल प्रहरी महानिरीक्षक) बसन्त बहादुर कुँवरले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण को मुद्दाका आरोपीतहरूसँग सम्पर्क रहेको, पूर्व गृहमन्त्रीलाई जोगाउन प्रयास गरेको लगायतका काम गरेको भन्दै समाचार सम्प्रेषण गरेकोमा आइजीपीको सचिवालयबाट प्रकाशित विज्ञप्तिमा खण्डन गरिएको छ ।


विज्ञप्तिमा भनिएको छ, “कुनै आधार, तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ । कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ ।”


विज्ञप्तिमा नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपीत भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद कुरा भएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल प्रहरी सदैव संविधान, कानून र संगठनको आपनो मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन, निर्दोष नफसुन भन्नेमा सचेत र प्रतिबद्द छ । अपराधी जोसुकै होस उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार, तथ्य प्रमाण बिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ ।”

प्रतिकृया