नक्कली भुटानी शरणार्थी प्रकरणमा विशेष संसदीय समिति गठन गर्न रास्वपाकाे माग(भिडियाे सहित)

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार ११:५७

ravi

१० जेठ २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद लामिछानेले यो प्रकरणमा छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताए।


आजको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने ‘यो प्रकरणमा कुनै राजनीतिक दल बाँकी छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस्। त्यतिमात्र होइन राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी र प्रमुखहरूका नाम आइरहेको छ। यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिनको उज्यालोमा प्रधानमन्त्री निवास बालुवाटारमा, सिंहदरबारमा, मन्त्री क्वार्टरमा लेनदेन भएका विषय आएका छन्,’ उनले भने, ‘यहाँ मुछिएका मानिसहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने?’


उनले विश्वासको वातावरण बन्द भएको पनि बताए। ‘यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘ज-जसको नाम आएको छ उनीहरूलाई सोधपुछ गर्न नहुने गरी किन डराएको हो?’ ‘मुटु दह्रो छ भनेर गृहमन्त्री र प्रधानमन्त्रीले भन्नुभएको थियो। उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने? कति दह्रो छ भन्ने हामीले देखेका छौं,’ उनले भने, ‘खुट्टा कमाउनु भएन।’ प्रहरी प्रमुख लगायतलाई पनि सोधपुछ गरिनुपर्ने उनले बताए।


‘अहिलेको छानबिनले नेपाली जनताले चाहेको जस्तो नतिजा दिन सक्छैन,’ उनले भने, ‘संसदले विशेष समिति बनाउनुपर्छ।’

प्रतिकृया