• 3:42 pm

सरकारले माग सम्बोधन नगरे अन्य देशको शरणार्थी बन्ने शुक्लाफाँटा आरक्ष पीडितहरूको घोषणा

प्रकाशित मिति

२०८० जेष्ठ ८ गते, सोमबार ०३:०६

८ जेठ २०८०, काठमाडौँ : कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पीडितहरूले दुई दशकभन्दा बढी समय बितिसक्दा पनि न्यायिक पुनर्स्थापना नभएको भन्दै अब धैर्यताको बाँध टुटेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आरक्ष पीडितहरूले आफूहरूलाई तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ०५८ सालमा विस्थापित गराएको र हालसम्म पनि पुनर्स्थापना नगराएको बताएका हुन् ।


उनीहरूले हालसम्म राज्यले ३२ वटा आयोग बनाएको तर क्षतिपूर्ति र मुआब्जा केही नपाएको दाबी गरेका छन् । आरक्ष पीडित संघर्ष समितिका सचिव प्रेम भट्टले २२ वर्ष पुग्दा पनि आफूहरूको मागको कुनै सुनुवाइ नभएको बताउँदै भने,‘आज बल्लबल्ल सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट भयो। केही कुरामा हामीलाई हर्ष लाग्यो भने विश्वास अझै रहेको छैन।’


पूर्वप्रधानमन्त्रीले पनि यस्ता आश्वासन यसअघि दिएको र काम नगरेको हुँदा माग सम्बोधन नहुँदासम्म अहिलेको प्रधानमन्त्रीसँगको भेटमा पनि आफूहरू विश्वस्त नभएको उनको भनाई छ । उनले आफ्ना सन्तानहरू भारतमा रोजगारी गरेर बसिरहेको र सरकारले जमिन उपलब्ध नगराए आफूहरू पनि कुनै देशको शरणार्थी भएर बस्ने चेतावनी दिए। आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेको र उनले चाँडोभन्दा चाँडो आफ्नो माग पूरा गर्ने आश्वासन दिएको हुँदा केही आशा लागेको उनले बताए।


स्थानीय शिरोमणि ओझाले कञ्चनपुरको शुक्लाफाँटा आरक्षको क्रममा जमिन अतिक्रमण गरेको र हजारौँ परिवारहरूलाई सरकारले पुनर्स्थापित नगराएको उनको दाबी गरे। यस्तै, संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले वि.सं. २०५८ सालदेखि पटकपटक काठमाडौँ आइरहेको र सरकारसँग पनि आएपिच्छे वार्ता भइरहेको तर आफूहरू समस्या समाधान गर्न सरकारले आनाकानी गरेको आरोप लगाए ।

प्रतिकृया