• ०७:०० २०८१ बैशाख ७ गते
  • 7:00 am

काठमाडौं–क्वालालम्पुर–भैरहवा उडानका लागि नेपाल एयरलाइन्सको टिकट बुकिङ खुला

प्रकाशित मिति

२०८० जेष्ठ ५ गते, शुक्रबार ११:१८

nepalair

जेष्ठ ५ , २०८०, काठमाडौँ : नेपाल वायुसेवा निगमले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं उडानका लागि टिकट बुकिङ खुला गरेको छ। निगमले यही जेठ २९ गते (१२ जुन) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्नका लागि टिकट बुकिङ खुला गरेको हो।


भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरू गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने बताएको छ।


निगमका कार्यकारी अध्यक्ष र वाणिज्य विभागका निर्देशकले केही समय अघि गरेको मलेसिया भ्रमणमा मलेसियाका नागरिक उड्डयन प्राधिकरण निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षहरूमा छलफल गरेको थियो। उक्त भ्रमणमा मलेसियास्थित नेपाली दूतावास, ट्राभल एजेन्टहरू, त्यहा रहेका उद्यमी व्यवसायीहरू, नेपाली समुदायका व्यक्तिहरूसँग समेत छलफल भएको निगमले बताएको छ।


निगमले मलेसियाको जोहोरबारूबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था पनि गर्दैछ। यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पुर र जोहोरबारूसम्म, त्यसैगरी जोहोरबारूबाट समेत काठमाडौं वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्नेछन्।


गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजहरूको पनि व्यवस्था गरिने निगमले बताएको छ।

प्रतिकृया