• 4:01 pm

विदेश पढ्न जाँदा नेपालको कति रुपैयाँ विदेशिन्छ, एक वर्षमा रमिट्यान्स कति भित्रन्छ : सांसद न्यौपाने

प्रकाशित मिति

२०८० जेष्ठ ४ गते, बिहीबार ०१:४२

जेष्ठ ४, २०८०, काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बैठकको सुरूमै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकारी विद्यालय सुधार गर्नेजस्ता विभिन्न विषयमा प्रश्न गरेकी छन्।


‘सरकारी स्कुल सुधार गर्ने र युवालाई स्वदेशमै रोजगारी दिने सरकारको नीति के छ?,’ उनले प्रश्न गरिन्, ‘विदेश पढ्न जाँदा नेपालको कति रुपैयाँ विदेशिन्छ?’ एक वर्षमा रमिट्यान्स कति भित्रन्छ ? मल कारखाना खोल्ने नीति के छ जस्ता प्रश्न उनले गरेकी थिइन ।


सांसद न्यौपानेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७९/२०८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा रू ६७ अर्ब १९ करोड बाहिरिएको जानकारी दिए। यस्तै यो अवधिमा रू ९०३ अरब ३९ करोड रेमिट्यान्स प्राप्त भएको र यो गत वर्षको भन्दा २४.२ प्रतिशत वृद्धि भएको प्रधानमन्त्रीको भनाइ थियो।


उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन सरकार प्रतिबद्ध रहेको बताए। विद्यालयको संरचनागत र भौतिक सुधारमा स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्ने उनले बताए। रासायनिक मल उत्पादन गर्नका लागि विभिन्न प्रस्ताव लगानी बोर्डमा आएको र ती प्रस्तावका आधारमा अध्ययन गरी मल कारखाना खोलिने उनले बताए।

प्रतिकृया