सिद्धार्थ बैंकलाई IFC ले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने
प्रकाशित मिति
२०८० जेष्ठ ३ गते, बुधबार १२:०१

जेष्ठ ३, २०८०, काठमाडौँ : सिद्धार्थ बैंकलाई International Finance Corporation (IFC) ले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ। सिद्धार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको IFCबीच नेपालका लघु, साना तथा मझौला(MSME) उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको हो।
बैंकलाई प्रदान गरिने सो ऋण रकम आइएफसीले नेपाली बैंकलाई हालसम्म प्रदान गरेको सबैभन्दा बढी ऋण रकम भएको बैंकले बताएको छ। यस सहकार्यबाट प्राप्त रकम बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपूर्ण कृषि जस्ता परियोजनामा लगानी गर्ने बैंकले जनाएको छ।
यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवर्द्धन गर्न र हाल नेपालको बैंकिङ प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केहि हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
२ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँको सम्पत्ति, २ खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ निक्षेप र १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ कर्जा पुँजी भएको बैंकले देशभरी १९५ शाखा, २२३ एटिएम र १ हजार ७४४ पिओएसमार्फत बैंकिङ सेवा दिँदै आएको छ।
‘डिजीटल फस्र्ट‘ अभ्यास अपनाउँदै सिद्धार्थ बैंकले दिगो विकासलाई सधैं प्राथमिकतामा राखी बैंकको समग्र व्यापार रणनीति वातावरणमैत्री, समाज केन्द्रित तथा सुशासन पक्षहरूलाई ध्यानमा राखी आउनेपुस्ताका लागि दिगो प्रभाव सिर्जना गर्न सिद्धार्थ बैंक सधै प्रतिबद्ध रहेको छ । IFC को ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले हालै IFC द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा ‘Best Operations Bank in South Asia 2021’ अवार्ड बाट पनि सम्मानित भएको थियो ।
प्रतिकृया