तीन दलका नेता र सचेतकबीचकाे छलफल सम्पन्न
प्रकाशित मिति
२०८० बैशाख ३१ गते, आईतवार ०२:२८

वैशाख ३१, २०८०, काठमाडौँ : प्रधानमन्त्रीको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी थिए।
संसद् सञ्चालनमा सत्ता पक्ष र प्रतिपक्ष आधारभूत रूपमा एक भएर जान सहमत भएको पनि जानकारी दिए। बालुवाटारमा भएको सहमतिअनुसार समितिका सभापतिहरूको टुंगो आजै लाग्ने बताइएको छ। त्यसका लागि सिंहदरबारमा अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।
बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धित विधेयकलाई छिटो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।
प्रतिकृया