• 4:00 pm

मानव कल्याण समाजको पाचौं वार्षिकोत्सब सम्पन्न

प्रकाशित मिति

२०८० बैशाख २८ गते, बिहीबार १०:२१

२८ वैशाख २०८०, काठमाडौँ : आज मानव कल्याण समाज (सेवा घर) को पाचौं वार्षिकोत्सबको शुभ अवसरमा शुभकामना आदानप्रदान तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । चागुनारायण नगरपालिकाको नगरप्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख खत्रीले मानव कल्याण समाजले चाँगुनारायणबाट शुरु गरेको अनाथ, असाहायहरुको उद्धार तथा पुनःस्थापनाको कार्य मुलुकभरमै उदाहरणीय रहेको बताए ।


स्थायी संरचनाको अभावमा समाजले गर्ने कार्य व्यवस्थित हुन नसकेको बताउँदै प्रमुख खत्रीले समाजका लागि स्थायी भवन निर्माणका लागि आवश्यक जग्गा र भवन निर्माणका यसै वर्षको वजेटबाट शुभारम्भ गर्नेगरी व्यवस्था गर्ने बचन दिए । मानव कल्याणले गरेका कार्य अत्यन्तै सराहनीय भएको बताउँदै नगर प्रमुख खत्रीले यसको स्थायीत्वको जिम्मेवारी अव चागुनारायण नगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा चागुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधानले असाहाय, सडक मानवको उद्धार गरी समाजमा पुनःस्थापना गरेर मानव कल्याण समाजले ठुलो पुण्यको काम गरेको बताउँदै आफुले वडा सदस्य हुंदादेखिनै समाजलाई सहयोग गर्ने प्रयत्न गरेको बताए ।


पत्रकार महासघं भक्तपुरका निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकीले आफ्ना बुवा आमा पाल्न नसकेर बृद्धाश्रममा राख्ने प्रबृतिको विकास भइराखेको समयमा मानव कल्याण समाजले ८५० भन्दा बढी असाहाय, अपाङग, बेसहारालाई ल्याएर उपचार र रेखदेख गर्नु चानचुने कुरा नभएको बताए । यस्तो पुण्यको काममा सबैले साथ दिनुपर्ने बुढाथोकीको भनाई थियो । मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले आठ वर्षअघि सात जना सडक मानवलाई सडकमै गएर खाना ख्वाएर शुरु भएको अभियान अन्तर्गत हाल भक्तपुरसहित काभ्रे, काठमाडौं, दाङ र बाराका छ शाखा ३५० लाई उद्धार गरी व्यवस्ति रुपमा राखिएको जानकारी दिइन ।


छ वर्षको अवधिमा बेसाहारा, सडक मानव, अपाङ गरी ८५० को उद्धार र उपचार गरी करिव ४ सयलाई परिवारमा पुनःमिलन गरिएको बताइन । अध्यक्ष चौलागाईले शुरु शुरुमा यस्तो कार्य थाल्दा परिवार र समाजबाट आफु लगायतका सात जना स्वयंसेवीनै बेसाहारा बन्नु परेको उदाहरण प्रस्तुतगर्दै पछिल्लो समय केहि पालिका, स्थानीय दानवीर लगायतका सहयोगी हातहरु बढ्दै जाँदा व्यवस्थापनमा केहि सहजता भएको बताइन ।


ब्रम्ह कुमारी राजयोगीकी बि।के।अम्बिकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सन्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्य, गायक नवीन कार्की, वडा सदश्य मुना गुरुङ, समाजसेवी गोबिन्द थापा, समाजसेवी राजेश देउजा लगायतका सेवा घरका शुभेच्छुक, शुभचिन्तक, सेवा प्रेमीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको अन्त्यमा पाँचौ वार्षिक उत्सवका अवसरमा दिपावली गरिएको थियो । सोहि अवसरमा नगर प्रमुख खत्रीले सेवा घरमा रहेका ५० जना आमाबुवालाई साँझको भोजन र भोजन सेवाको लागि नगद नौ हजार प्रदान गरेका थिए ।

प्रतिकृया