प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीचको छलफल सकियो
प्रकाशित मिति
२०८० बैशाख २७ गते, बुधबार ०५:०७

२७ वैशाख २०८०, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल सकिएको छ। प्रधानमन्त्री कार्यालयमा नेताहरूबीच झन्डै साढे एक घन्टा कुराकानी भएको हो।
बुधबार दिउँसो सिंहदरबारमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच करिव डेढ घण्टा लामो छलफल भएको हो । तीन नेताको छलफलमा कांग्रेस नेता रमेश लेखक तथा उपप्रधान तथा गृहमन्त्री समेत रहेका माओवादी नेता नारायाणकाजी श्रेष्ठ छलफल सहभागी बनेका थिए ।
तीन नेताबीच संसदभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको नेता लेखकले जानकारी दिए । ‘संसदलाई प्रभावकारी बनाउन त्यसभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको छ । संसदमा अब बजेट, नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने कुरा छ । त्यसपछि हाउसका कामहरु अघि बढाउने कुराहरु छन्’, लेखकले भने, ‘विषयगत समितिका सभापतिको निर्वाचन गर्ने लगायतका कुरामा छलफल भएको छ ।’
भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको हो। तर यस विषयमा आज छलफल नभएको लेखकले बताए। पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीले निरन्तर संवाद गरिरहेका छन्।
प्रतिकृया