सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख लगायत ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
प्रकाशित मिति
२०८० बैशाख २७ गते, बुधबार ०४:४४

२७ वैशाख २०८०, काठमाडौँ : भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठ, इन्जिनियर, लेखापाल, कन्स्ट्रक्सनका प्रोप्राइटरसमेत ५ जना र भोलेबाबा कन्स्ट्रक्सन उपर गैरकानूनी लाभ तथा हानी एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ।
बुटबलमा भूमिगत जलस्रोत र सिंचाइको निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
अख्तियारले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटबलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुक बहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणाली निर्माणको ठेक्कामा हुँदै नभएको काम भएको भनी रकम भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इञ्जिनियर दास र लेखा प्रमुख नेत्रप्रसाद मरासिनी, माथि ५३ लाख ७५ हजार बिगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिलाई भने अख्तियारले ६३ लाख ७ हजार रुपैयाँ बिगो मागदाबी गरी मुद्दा चलाएको छ । उनीहरुमाथि नगरेको कामलाई बढी काम गरेको देखाउन झुट्टा बिल बनाउन लगाएको आरोप छ ।
प्रतिकृया