अर्घाखाँचीमा आगलागी घाइते भएका चार जनाको मृत्यु
प्रकाशित मिति
२०८० बैशाख २७ गते, बुधबार ०९:५७
२७ वैशाख २०८०, काठमाडौँ : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासेको मृत्यु भएको हो ।
मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लैजान सिफारिस गरिएको थियो ।

यसैबीच सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट चार भैंसीसमेत जलेर मरेका छन् । कुखुरा फार्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालद्दिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए ।




प्रतिकृया