सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ न्यायाधीश दाहालको इजलासमा
प्रकाशित मिति
२०८० बैशाख ६ गते, बुधबार १२:१६
६ वैशाख २०८०, काठमाडौँ: क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा अन्तिम सुनुवाइको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा रहेको छ । सुनुवाइ पेसी सूचीको १ नम्बरमा रहेको छ ।
यसअघि चैत २६ न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश बरालको इजलासले जाहेरवालाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रको लागि उपस्थित हुन आदेश गरेको थियो । यस अघि जाहेरवालाको परीक्षण गर्ने चिकित्सकको नभई अर्कै चिकित्सकले अदालतमा उपस्थित भई बकपत्र गरेको बताइएको थियो ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो । कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।
तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।
प्रतिकृया