• 2:46 pm

पुटिनको आलोचना गरेको र युक्रेन युद्धको आलोचना गरेकाे आरोपमा रुसी विपक्षी राजनीतिक कार्यकर्तालाई २५ वर्षको जेल सजाय

प्रकाशित मिति

२०८० बैशाख ५ गते, मंगलवार ११:२१

५ वैशाख २०८०, काठमाडौँ: रुसका विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ । रुसी-बेलायती पूर्वपत्रकार मुर्जाले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन् ।


गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो। मलाई एक शब्द पनि पश्चाताप छैन। मलाई गर्व छ ।’ ४१ वर्षीय मुर्जाले पश्चिमी सरकारहरूलाई रुसी अधिकारीहरूमाथि मानवअधिकार उल्लंघन र भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए । मुर्जालाई एक वर्षअघि मस्कोमा पक्राउ गरिएको थियो । त्यतिबेला प्रहरी अधिकारीको अवज्ञा गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो तर हिरासतमा लिएपछि उनीमाथि गम्भीर आरोप लगाइयो ।


उनीविरुद्ध चलिरहेको मुद्दा मुख्यतया गत वर्ष अमेरिकामा दिएको भाषणमा आधारित छ । जहाँ उनले युक्रेनका आवासीय क्षेत्र, प्रसूति अस्पताल र विद्यालयमा बम विष्फोट गरेर रसियाले युद्ध अपराध गरिरहेको बताएका थिए। तर रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।

प्रतिकृया