• 12:45 pm

आर्सनलमाथिको दबाब कायम राख्दै सिटी

प्रकाशित मिति

२०८० बैशाख ३ गते, आईतवार १०:५७

३ वैशाख २०८०, लन्डन : इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबार रेलिगेसन क्षेत्रबाट माथि उक्लिन संघर्षरत लेस्टर सिटीमाथि ३-१ को सहज जित निकाल्दै शीर्ष स्थानमा आसिन आर्सनलमाथिको दबाब कायम राखेको छ । घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीलाई जित दिलाउन एर्लिङ हाल्यान्डले दुई र जोन स्टोन्सले एक गोल गरे ।


खेलको पाँचौँ मिनेटमा जोन स्टोन्सले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । १३औं मिनेटमा हाल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । २५औं मिनेटमा हाल्यान्डको व्यक्तिगत दोस्रो गोलमा सिटीको पहिलो हाफमै अग्रता ३-० को सहज अवस्थामा पुर्‍याएको थियो । लेस्टरका केलेची इहिनाचोले ७५औं मिनेटमा गरेको गोलमा सिटीको अग्रता ३-१ मा ल्याए पनि टिमको हार भने टार्न सकेनन् ।


यसै सिजन जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सिटी भित्रिएका हाल्यान्डले सबैखाले प्रतियोगिता गरी पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको टिमबाट ४० खेलमा ४७ गोल गरिसकेका छन् ।


जितसँगै ३० खेलबाट ७० अंक जोडेको सिटी दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनलभन्दा तीन अंकमात्र पछि हो । समान खेल खेलेको आर्सनलको ७३ अंक छ । यता, रेलिगेसन क्षेत्रमा रहेको लेस्टरले भने ३१ खेल खेल्दा २५ अंकमात्र जोडेको छ ।


शनिबार राति नै सम्पन्न लिगका अन्य खेलमा चेल्सीले ब्राइटनसँग २-१ को हार बेहोर्दा टोटनहम पनि बर्नमाउथसँग ३-२ ले पराजित भयो ।

प्रतिकृया