एनसेलभोल्टे सेवा अब आईफोनमा पनि उपलब्ध
प्रकाशित मिति
२०८० बैशाख ३ गते, आईतवार १०:५१
वैशाख ३, २०८०, काठमाडौं : नयाँ वर्ष २०८० बाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले पनि स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरेपश्चात् एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको हो ।
दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएको र यसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्ने एनसेलले जनाएको छ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने र ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्ने दाबी गरिएको छ ।
एनसेल भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ता ग्राहकहरूले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन् । आईफोन ८ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरूले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुने एनसेलको भनाइ छ ।
भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आईफोन प्रयोगगर्ने ग्राहकहरुका लागि एउटा अर्को पनि योजना ल्याएको छ । यस अन्तर्गत आफ्नो भौतिक सिमलाई ई-सिममा अपग्रेड गर्ने ग्राहकले ७ दिन मान्य रहने २ जीबी बोनस डेटा पाउनेछन् । बोनस डेटा नेपालमा नै अवस्थित आईफोनको आधिकारिक विक्रेतामार्फत आईफोन खरिद गरेका ग्राहकहरुका लागि लागू हुनेछ ।
एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्ने र ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने एनसेलको भनाइ छ ।
प्रतिकृया