नेपालकाे वित्तिय क्षेत्र सुरक्षित छ, सानो धक्काले असर गर्दैन : गभर्नर अधिकारी
प्रकाशित मिति
२०७९ चैत्र २८ गते, मंगलवार ०३:२३
२८ चैत्र २०७९, काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले नेपाली वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन् । राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेकाले वित्तीय क्षेत्र सुरक्षित रहेको गभर्नर अधिकारीको भनाइ छ । ‘सानो धक्काले असर गर्दैन’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता बढी नै छ ।’ उनले पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत रहेको बताए।
मुद्रास्फीति घट्ने क्रममा रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्स भित्रिने क्रम बढ्दो अवस्थामा रहेको बताए। ‘मंसिरदेखि फागुनसम्म मासिक १ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ’, उनले भने । चालु खाता घाटामा उल्लेख्य सुधार आएको गभर्नर अधिकारीले बताए। ‘विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा छ’, उनले भने।
गभर्नर अधिकारीले बैंकहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन पनि दिए। ‘बैंकिङ प्रणालीमा तरलता सुधार हुँदै गएको छ, ब्याजदर केही माथि नै छ’, उनले भने, ‘आधार दर र निक्षेपको औसत ब्याजदर घट्ने क्रममा छ ।’ पुँजी पर्याप्तता न्यूनतम अनुपातभन्दा बढी नै रहेको गभर्नर अधिकारीले बताए।
साथै निष्क्रिय कर्जा समेत २।६३ प्रतिशत रहेको उल्लेख गर्दै उनले विद्युतीय कारोबार उल्लेख बढेको बताए ।
प्रतिकृया