• 3:25 pm

कांग्रेसलाई मजबुत बनाउन शिक्षक सङ्घको भूमिका रहेको सभापति देउवाको भनाई

प्रकाशित मिति

२०७९ चैत्र २८ गते, मंगलवार ०३:०७

२८ चैत्र २०७९, काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताए ।


‘पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी सङ्घसँगै शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो’, उनले भने । सभापति देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको समेत बताए ।


सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेलले संविधान निर्माण भएको सात वर्ष पूरा हुँदा पनि सङ्घीय शिक्षा ऐन निर्माण हुन नसक्नु दुःखको कुरा भएको बताए । उनले माओवादी जनयुद्धका क्रममा मारिएका शिक्षकका छोराछोरीलाई सरकारले हेर्न नसकेको गुनासो गरे । ‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ ।


विस २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक सङ्घले हाल सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा सङ्गठन विस्तार गरिसकेको छ । नेपाल शिक्षक सङ्घमा हाल देशभर ८० हजारभन्दा बढी शिक्षक सदस्य रहेको अध्यक्ष पौडेलले बताए ।

प्रतिकृया