आपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति बने ट्रम्प, आत्मसमर्पण गर्दै
प्रकाशित मिति
२०७९ चैत्र १७ गते, शुक्रबार १०:४०

१७ चैत्र २०७९, काठमाडौँ: डोनाल्ड ट्रम्प आपराधिक अभियोग लाग्ने संयुक्त राज्य अमेरिकाको पहिलो पूर्वराष्ट्रपति बनेका छन् । पूर्वपोर्नस्टार स्टर्मी डेनियललाई एक लाख ३० हजार अमेरिकी डलर भुक्तान गरेको विषयमा म्यानहट्टन जिल्ला अदालतको निर्णायकमण्डलले ट्रम्पमाथि एक वर्ष लामो अनुसन्धान गरेको थियो । त्यसपछि निर्णायकमण्डलले उनलाई अभियोग लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्वराष्ट्रपतिविरुद्ध अभियोग लगाइएको अमेरिकी राजनीतिक इतिहासकै यो पहिलो घटना हो । ७६ वर्षीय ट्रम्पमाथि लगाइएको आरोपको विवरण भने सार्वजनिक गरिएको छैन । म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन ब्रागको कार्यालयले बिहीबार साँझ ट्रम्पका वकिलहरूसँग अदालतमा आत्मसमर्पणका लागि समन्वय गर्न सम्पर्क गरेको जनाएको छ ।
योसहित ट्रम्पले व्यापार ठगीलगायत करिब ३० मुद्दाको सामना गर्न सक्ने बताइएको छ । ट्रम्पका वकिलले उनले मंगलबार आत्मसमर्पण गर्ने र अदालतमा उपस्थित हुने पुष्टि गरेका छन् । ट्रम्पले समर्थन र सहयोगका लागि रिपब्लिकन सांसदहरूलाई आह्वान गरेका छन् । अभियोग घोषणा गरिएपछि ट्रम्पले एक लामो वक्तव्यमा आफूविरुद्ध नक्कली, अपमानजनक आरोप लगाइएको जिकिर गरेका छन् । आफूलाई अमेरिकी जनताको साथ रहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पका समर्थक उनको निवास पाम बीच मार ए लागोबाहिर भेला भएका छन् । फ्लोरिडामा बस्ने ट्रम्प औपचारिक गिरफ्तारी र अदालतको पहिलो सुनुवाइका लागि न्युयोर्क जाने अपेक्षा गरिएको छ ।
ट्रम्पमाथि अभियोग लागेसँगै न्युयोर्क प्रहरी विभागलाई थप प्रहरी तैनाथका लागि तयार रहन आदेश दिइएको छ ।
प्रतिकृया