उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत भई प्रकाशन
प्रकाशित मिति
२०७९ चैत्र १६ गते, बिहीबार ०५:४८

१६ चैत्र २०७९, काठमाडौँ: मिति 2080 साल वैशाख 10 गते आइतबारका दिन हुने उपनिर्वाचनसमेतका लागि निर्वाचन आयोगबाट आज मिति 2079 चैत १६ गते अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरिएको छ । स्वीकृत मतदाता नामावली बमोजिम मिति 2080 वैशाख ९ गतेसम्म १8 वर्ष उमेर पुग्ने व्यक्तिहरूमध्ये महिला मतदाता 88,52,046, पुरुष मतदाता 91,49,335 र अन्य 185 जना गरी जम्मा १,८०,०१,५६६ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ ।
मिति 2079 मंसिर 4 गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, 2079 का लागि महिला 88,47,579 पुरुष 91,40,806 र अन्य 185 गरी जम्मा 1,79,88,570 जना रहेकोमा हाल १२,९९६ मतदाता वृद्धि भएको छ । उक्त निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नं 2 मा १,२४,२१५, बारा जिल्ला निर्वाचन क्षेत्र नं 2 मा १,०५,०११ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १,२३,४९० मतदाता रहेकोमा मिति 2080 वैशाख 10 गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं 2 मा ४७० थप भइ 1,24,695, बारा जिल्ला निर्वाचन क्षेत्र नं 2 मा २३७ थप भइ 1,05,248 र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १८५ घटी भइ 1,23,305 मतदाता कायम भएका छन् ।
यसैगरी आयोगको निर्णयानुसार 2079 चैत १६ सम्म देशभर 10,892 मतदान स्थल र 22,237 मतदान केन्द्र कायम भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि 194 मतदान स्थल र 427 मतदान केन्द्र कायम भएको छ । सो अनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं 2 मा 43 वटा मतदानस्थलमा 138 मतदान केन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं 2 मा 82 मतदानस्थलमा 137 मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं 1 मा 69 मतदानस्थलमा 152 मतदान केन्द्र रहने छन् । उक्त क्षेत्रहरुमध्ये चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थल यथावत रहेका छन् भने बारा क्षेत्र नं २ मा १ मतदान केन्द्र थप भएको छ ।
आयोगको निर्णयअनुसार चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा २०७९ चैत ६ देखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता (Pre-Enrollment) र बाहिरी जिल्ला दर्ता (ODR) स्थगन गरिएको छ । अन्य जिल्लामा भने मतदाता नामावली संकलन कार्य २०७९ माघ २ गतेदेखि यथावत जारी रहेको छ ।
प्रतिकृया